नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन तानसेन सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ ।
शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए । “अब मागका आधारमा दैनिक सिमेन्ट पठाउने तयारी छ,” उनले भने । पाल्पा सिमेन्टले पाल्पाको माथागढी–७, रहबासमा रहेको खानीको चुनढुङ्गा प्रयोग गर्दै आएको छ । हाल यो उद्योगले दैनिक एक हजार आठ सय मेट्रिक टन क्लिङ्कर र करिब तीन हजार मेट्रिक टन सिमेन्ट (जडित क्षमताका आधारमा) उत्पादन गर्दै रहेको छ। वर्षोंदेखि निजी क्षेत्रले सिमेन्ट निर्यातको वातावरण तयार गर्न आग्रह गर्दै आएकोमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले त्यसलाई सम्बोधन गरेको थियो ।
नेपाल सिमेन्टमा आत्मनिर्भर बनेपछि सिमेन्ट भारत जान लागेपछि उद्योगी खुसी देखिएका छन्। भारततर्फको निकासीले आर्थिक गतिविधिलाई थप चलायमान गराउने अनुमान गरिएको छ । त्यस्तै नेपाल आयत गर्ने देशको सूचीमा रहे पनि सिमेन्टमा आत्मनिर्भर भएर भारततर्फ पनि निर्यात गर्नु ठूलो उपलब्धि भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस