aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयमा आगो लगाए

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, २६ असार २०७९
श्रीलंकामा प्रदर्शनकारीले  प्रधानमन्त्री कार्यालयमा आगो लगाए

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन् । कोलम्बोको फिफ्थलेनस्थित उनको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेको डेली मिरर अनलाइनले जनाएको छ ।

शनिबार साँझ प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निजी निवास छिरेका थिए । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनावको स्थिति आएपछि आश्रुग्यास प्रहार गरिएको थियो। त्यसका बावजुद प्रदर्शनकारीहरुले घरमा आगजनी गरेको समाचारमा उल्लेख छ ।

कोलम्बो नगर परिषद्ले पनि प्रधानमन्त्री निवासमा आगलागी भएको पुष्टि गरेको छ । सहरमा प्रदर्शनकारीद्वारा भएको अशान्तिका कारण दमकल पुग्न समस्या भएको परिषद्का अधिकारीले डेली मिरर अनलाइनसँग भनेका छन् ।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीहरुले आज बिहानैदेखि सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले आज बिहानदेखि राष्ट्रपति निवास घेरेका थिए । दिउँसो प्रदर्शनकारी निवासमै छिरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे सुरक्षित स्थानमा भागेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघे आफू राजीनामा दिन तयार रहेको बताएका छन् । उनले पदबाट राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै डेली मिरर अनलाइनले लेखेको छ । 

उनले ट्वीटरमार्फत् पनि आफू सरकार छोड्न तयार रहेको उल्लेख गरेका छन् । बीबीसीका अनुसार त्यहाँको नागरिकको सुरक्षाका लागि प्रधानमन्त्रीले विपक्षीको प्रस्ताव स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस