काठमाडौं । तनहुँमा ‘नाइरोबी फ्लाई’ नामक किराबाट छालामा सङ्क्रमण फैलिएका पाँच जना विरामी भेटिएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ र ४ मा भेटिएको हो । प्रकोप बढेसंगै सजकता अपनाउन आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
आँबुखैरेनी गाउँपालिका–३ का १० वर्षिय बालक सो किराको एसिडले गर्दा सङ्क्रमण देखिएको आँबुखैरेनी बजार स्थित मनकामना हेल्थ क्लिनिकका डा. आशिष कार्कीले जानकारी दिए । साँझपख घरभित्र बत्ति बलेको अवस्थामा यो किरा झ्याल, ढोकाबाट प्रवेश गर्ने र यो किरासँग छोइदा पनि एसिडले पोलेको जस्तो छालामा जनै खटिरा जस्तो घाउ हुने डा. कार्की बताउछन् । घाउले चिलाउने र पोल्न थालेपछि बालकका परिवारजनले क्लिनिकमा उपचारको लागि ल्याएका थिए । नाईरोबी फ्लाई किराको एसिडले बालकको घाँटीको दाहिने भागमा करीव ४ इन्च क्षेत्रफलमा सङ्क्रमण फैलिएको क्लिनिकका सञ्चालक सिसन कुँवरले जानकारी दिए । ‘किरा देखेपछि लामखुट्टे मारेजस्तै गरी हिर्काएर मारिदिएको बालकले बताएको उनले जानकारी दिए ।
बालकका अतिरिक्त वडा नम्बर ३ र ४ मा दुई पुरुष र दुई महिला गरी चार जना नाइरोबी फ्लाईको लक्षण लिएको बिरामी सम्पर्कमा आएको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अमोध उपाध्यायले जानकारी दिए । ‘लक्षण भएका विरामी पाइयो तर जटिल पाइएन सङ्क्रमण फैलिन नदिन सर्तकता अपनाउन भनेका छौं’ स्वास्थ्य शाखा प्रमुख उपाध्यायले भने । सम्पर्कमा आएका बिरामीको छालामा दाग, घाउ, जनै खटिरा जस्तो देखिने समस्या लिएर आउने गरेको र जसको मुख्य कारण नाइरोबी फ्लाई नामक किराले टोक्दा यसको एसिडले हुने स्वास्थ्य शाखा प्रमुख उपाध्याय बताउछन् ।
प्रतिक्रिया दिनुहोस