aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘सरकारको साथ पाए भारत मात्रै होइन तेस्रो मुलुकमा समेत सिमेन्ट बेच्छौँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ असार २०७९
‘सरकारको साथ पाए भारत मात्रै होइन तेस्रो मुलुकमा समेत सिमेन्ट बेच्छौँ’

काठमाडौं । भारतसँगको व्यापार घाटा चुलिइरहेका बेला नेपालले सिमेन्ट निर्यात गर्न थालेको छ । गत शुक्रवार तानसेन सिमेन्टले तीन हजार बोरा सिमेन्ट भारत पठाएर निर्यातको थालनी गरेको हो ।   

पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले सिमेन्ट भारत निर्यात गरेको आरएमसी ग्रुपका कार्यकारी निर्देशक राजेश कुमार अग्रवालले बताए । नेपालमा सिमेन्ट बजारको अभाव देखिएपछि विकल्पको रूपमा निर्यात शुरु गरेको उनको भनाइ छ । अग्रवालले भने, ‘नेपालमा सिमेन्टको बिक्रीका लागि बजार अभाव भयो । कोसिस गरौँ कतै सफल हुन सकिन्छ की भनेर भारतमा सिमेन्ट निर्यात गर्न शुरु गरेका छौँ ।’

पहिलो चरणमा नेपालबाट भारतको उत्तर प्रदेशमा पीपीसी सिमेन्टको निर्यात भएको हो ।  माग अनुसार नियमित निर्यात गर्ने तयारीमा नेपालका उद्योगीहरू रहेका छन् । लामो समयदेखि निजी क्षेत्रले सिमेन्ट निर्यातको वातावरण तयार गर्न आग्रह गर्दै आएका थिए । 

त्यसो त आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले पनि निर्यातको वातावरण बनाइदिएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले निर्यातमा नगद अनुदानलाई ८ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए । 

सरकारको यस्तो घोषणापछि सिमेन्ट उद्योगीहरू उत्साहित बनेका छन् । निर्यातको वातावरण बनेपछि पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत निर्यात गर्न शुरु गरेको अग्रवालको भनाई छ । 

तानसेन सिमेन्ट पहिलो पटक भारत निर्यात भएसँगै देशभरका सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका खुलेको छ । ‘हामीले भारतमा सिमेन्ट निर्यात गर्न शुरु गरेका छौँ । अन्य उद्योगीहरूले पनि अब निर्यात गर्न शुरु गर्नु हुन्छ भन्ने लागेको छ’, उनले भने ।  

हुन त भारतमा सिमेन्ट निर्यात गर्दा नेपाली उद्योगीहरूले खासै नाफा भने कमाउन सक्ने स्थिति छैन । तर, सरकारले अनुदानको घोषणा गरेपछि त्यसको लोभमा परेर उत्पादकहरू सिमेन्ट निर्यातका लागि तयार बनेका हुन् ।

भारततर्फ सिमेन्ट निर्यातमा नाफा कारकतत्व नरहेको बताउँदै अग्रवाल भन्छन्, ‘हामीले नाफाको लागि निर्यात गरेका होइनौँ । पहिलो कुरा सरकारले निर्यातमा नगद अनुदान दिने कुरा गरेको छ त्यसबाट हामीलाई केही सहयोग हुन्छ भन्ने आस छ’, उनले अगाडी थपे, ‘नेपालमा खपत भन्दा बढी सिमेन्ट उत्पादन भएकोले हामीले निर्यात गर्नु नै पर्ने हुन्छ । यससँगै नेपाल र भारतको व्यापारसँग सन्तुलन मिलाउन आवश्यक रहेको छ ।’ 

उनका अनुसार भारतमा नेपालको भन्दा प्रतिबोरा ५० रुपैयाँ कम रहेको छ । भारत निर्यात गरिएको सिमेन्ट भारतको मूल्य अनुसार नै बिक्री गर्नु पर्ने हुन्छ । तानसेन नयाँ ब्रान्ड हो । नयाँ उत्पादन भएकोले भारतको मूल्य भन्दा सस्तोमा पनि बेच्नु पर्ने बाध्यता रहेको उनी बताउँछन् ।    

पाल्पा सिमेन्टले पाल्पाको माथागढी–७ रहबासमा रहेको खानीको चुनढुङ्गा प्रयोग गर्दै आएको छ । हाल यो उद्योगले दैनिक एक हजार आठ सय मेट्रिक टन क्लिङ्कर र करिब तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै रहेको छ । पाल्पा सिमेन्टले स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्न शुरु गरेको हो । मागका आधारमा दैनिक सिमेन्ट निर्यात गर्ने तयारी उद्योगको छ । 

भारतमा ठूलो मात्रामा सिमेन्ट उत्पादन हुन्छ । तर, नेपालको उत्पादनको ५/१० प्रतिशत मात्र पनि निर्यात भयो भने नेपाललाई उल्लेख्य लाभ हुन्छ । भारतीय बजारको लागि सो कुरा आधा÷एक प्रतिशतको हाराहारी मात्र हुन आउँछ । प्राविधिकहरूका अनुसार नेपाल र भारतमा उत्पादन हुने सिमेन्टको गुणस्तर लगभग उस्तै छ । तथापि नेपालले निर्यात गर्दा भारतको गुणस्तर अनुसार नै पठाउनु पर्ने हुन्छ । 

सरकारले थप सहुलियत दिएमा केही वर्ष पछि भारतबाहेक अन्य मुलुकमा पनि सिमेन्ट निर्यात गर्न सम्भव रहेको अग्रवाल बताउँछन् । तर, सिमेन्ट ढुवानी निकै नै खर्चिलो हुने हुँदा तत्कालै तेस्रो मुलुकको निर्यात भने गर्न नसकिएको उनले भनाई छ । 

सरकारले ढुवानीको लागतमा सहजीकरण गरिदिने हो भने आफूहरूसँग तेस्रो मुलुकमा समेत सिमेन्ट निर्यात गर्ने क्षमता रहेको अग्रवाल दाबी गर्छन् । तथापि उपयुक्त वातावरणको अभावमा आफूहरूले अहिले नै तेस्रो मुलुकको निर्यातबारे भने सोच्न नसकेको उनको भनाई छ । अग्रवाल भन्छन्, ‘अहिले भारत बाहेक अन्य मुलुकमा पनि सिमेन्ट निर्यात गर्ने सोच भने राखेका छैनौँ । तर, सरकारले थप सहयोग गरेका तेस्रो मुलुकमा समेत निर्यात गर्न तयार छौँ ।’  

हुन पनि भैरहवामा सिमेन्ट उत्पादन गरेर काठमाडौं बिक्रीको लागि पठाउनु पर्‍यो भने २ सय रुपैयाँ प्रतिबोरा भाडा नै लाग्छ । जसले गर्दा धेरै टाढा नेपाली सिमेन्ट पुर्‍याउने विषय निकै जटिल देखिन्छ । फेरि पनि यदि नेपालको वैदेशिक व्यापार घाटा कम गर्ने हो भने उत्पादकहरूमा निर्यातयोग्य उत्पादन क्षमता देखिएको सिमेन्ट निर्यातबारे सरकारले ठोस सहजीकरण नीति निर्माणमा ध्यान दिन भने आवश्यक छ । 

 

प्रतिक्रिया दिनुहोस