aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नागरिकता विधेयकबारे गृहमन्त्री खाण र कानुनमन्त्री शर्माद्वारा एमाले नेता नेम्वाङसँग छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असार २०७९
नागरिकता विधेयकबारे गृहमन्त्री खाण र कानुनमन्त्री शर्माद्वारा एमाले नेता नेम्वाङसँग छलफल

काठमाडौं । नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेका छन् ।

आइतबार साँझ नेम्वाङ निवास  बालुवाटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए। 

गृहमन्त्री खाणले छलफल सकारात्मक भएको जानकारी दिए । नेता नेम्वाङले गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले संसदमा पेस भएको नागरिकता विधेयक पास गर्न सहयोग गर्न आग्रह गरेको जानकारी दिए । ‘

‘‘तपाईहरूले पहिला ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा समावेश गरेका विषयवस्तु समावेश गरेर विधेयक संघीय संसदमा पेस गरेका छौं । पास गर्नलाई छलफल गरौं भए,’’  भेटमा भएको कुराकानीबारे नेम्वाङले भने, ‘‘मैले ठीक छ, हाउसमा विधेयक आएपछि छलफल त हुने नै भयो । हामी नागरिकता विधेयकमा सकारात्मक छौ । विधेयकमा के के विषय समेटिएका छन्, त्यो हेर्छौ भनेँ ।’’

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस