काठमाडौं । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गरे । विवाहको एक वर्षपछि छोरीको जन्म भयो । छोरी जन्मिएको केही समयपछि नै श्रीमान्–श्रीमतीबीच खटपट सुरु भयो । गोकर्णले कल्पनालाई घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शंका गर्ने, छोरीलाई स्याहार नगरेको आरोप लगाउन थाले ।
आफूमाथिको आरोप कल्पनालाई सह्य नभएपछि घरझगडा सुरु भयो । घरको आर्थिक अवस्था कमजोर भएकाले कल्पना वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्सको दुबई गइन् ।
विदेशमा रहेको श्रीमती बिग्रेको हुन्छ भन्ने शंकाले गोकर्णलाई झनै पि¥यो । कल्पनाको भनाइ छ, ‘विदेशमा भनेजस्तो समयमा छुट्टी मिल्दैन नि, भनेको समयमा फोन उठाएन भने कोसँग कहाँ बसेकी छस् भनेर शंका गरेर गाली दिन थाल्नुभयो ।’
त्यसपछि श्रीमानले उजुरी दिएको घटना सम्झँदै कल्पना भन्छिन्, ‘उहाँले मसँग सरसल्लाह नगरी आफूखुसी घर छोडी गएको, ६ वर्षदेखि सम्पर्कमा नआएकाले अब तिमीसँग बस्न सक्दिन भन्नुभएको थियो । त्यही भनेर उजुरी दर्ता गर्नुभएछ ।’
कल्पना विदेशमै रहेका समयमा गोकर्णले सम्बन्धविच्छेद गरिपाऊँ भनी १४ मंसिर २०७८ मा दाङ जिल्ला अदालतमा मुद्दा दर्ता गरे । श्रीमान्–श्रीमतीबीच सल्लाह भएर नै आफू विदेश गएको कल्पनाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस