काठमाडौं । नेपालको प्रदेश नम्बर १ मा पर्ने पहाडी जिल्लामध्ये तेह्रथुम पनि एक हो । यस जिल्लामा ६ वटा पालिका रहेका छन । त्यसमध्ये आठराई गाउँपालिका पनि एक हो । संक्रान्ति बजार, ह्वाकु, इवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ र खाम्लालुङ गाविस समेटेर आठराई गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाले छुट्टै महत्व राखेको छ । भौगोलिक विषमता, शिक्षा क्षेत्रको अग्रता, प्राकृतिक सुन्दरता, सबै जातजातिको बासस्थान, पर्यटकीय सम्भावनाको अवस्था यस क्षेत्रलाई चिनाउने माध्यम हुन् । यसका साथै विश्वमै प्रसिद्ध मानिने अलैंची यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दु रहेको छ ।
नेपालमै प्रसिद्धि पाएको ढाकाटोपी, आठराईका खुकुरी, खाँडी कपडा, राडीपाखी लिम्बूहरूको धाननाच, तामाङहरूको तामाङ सेलो, बालुन नाच, ब्राह्मणले वजाउने नौमती बाजा यस क्षेत्रलाई चिनाउने प्रमुख विशेषताहरू हुन् ।
उत्तरदेखि दक्षिणतिर भिरालो परेको सुन्दर लिम्बूवान बस्ती भएको यो क्षेत्रको नामकरणका बारे विभिन्न किंंवदन्ती रहेका छन् । यस क्षेत्रको नाम आठराई रहनुमा एउटा ऐतिहासिक प्रसङ्ग जोडिएको छ । आठ जना रायले धरानको फुस्रेबाट भारी बोकेर आउँदा बास बस्ने ठाउँ संक्रान्ति डाँडामा रहेछ र बास बसेको ठाउँमा राति गफ गर्दै जाँदा यस क्षेत्रमा लिम्बूहरूको राज्य गर्ने मानिस नभएको हुनाले अब हामीले यस ठाउँको राज्य गर्नुपर्छ भनी राज्य गर्ने निधो गरेर राज गर्न थाले र आठ रायहरूले राज्य गरेको क्षेत्र हाल अपभ्रंश हुँदै आठराई नाम रहन गएको हो भन्ने किंवदन्ती पाइन्छ ।
प्रतिक्रिया दिनुहोस