aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दा पनि विद्यार्थीले पाएनन् पुस्तक

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, २९ असार २०७९
शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दा पनि विद्यार्थीले पाएनन् पुस्तक

काठमाडौं । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेखे, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन नसक्नु दुःखद हो । सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन सबै लाग्नुपर्ने देखिन्छ ।”

यसअघि सोमबार उदयपुरमा त सामुदायिक विद्यालयका विद्यार्थीले जुलुस नै निकालेर पाठ्यपुस्तक उपलब्ध गराउन माग गरे । पढाइको चिन्ता गर्दै ब्यानर बोकेर बालबालिका नै सडक आन्दोलनमा उत्रेको सम्भवतः यो पहिलो पटक हो । यस घटनाले पाठ्यपुस्तक अभावको समस्याले स्कुले नानीबाबुलाई कति पिरोलेको छ भन्ने स्पष्ट हुन्छ ।

कानुनअनुसार वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु भए पनि स्थानीय तहको निर्वाचन र गत वर्ष ढिलो शैक्षिक सत्र सुरु भएर पढाइ एक महिना लम्बिएका कारण यस पटक जेठ १ देखि मात्रै पढाइ सुरु भएको हो । 

यस पटक एक महिना ढिलो पढाइ सुरु हुँदा पनि पुस्तक पुर्‍याउन नसकेको भन्दै पुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आलोचना भइरहेको छ । यसबारे केन्द्रका प्रवक्ता चित्र आचार्यले पुस्तक छपाइ लगभग सकिएको जवाफ दिए । जबकि केन्द्रले केही दिनअघि मात्रै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा रहेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिलाई अझै १० लाख थान पुस्तक छपाइ बाँकी रहेको लिखित जानकारी गराएको थियो । 

प्रतिक्रिया दिनुहोस