
काठमाडौं । आर्थिक वर्षको अन्तिम समयमा लक्षित राजस्व फेला पार्न दिनरात खटिनुपर्नेमा राजस्व सचिव कृष्णहरि पुस्कर एक साता लामो विदेश सयर गरेर फर्केका छन् । सरकारले चालु आर्थिक वर्षमा राखेको राजस्व असुलीको लक्ष्य सुरुका महिनादेखि नै पूरा हुन सकेको छैन । यस्तोमा आर्थिक वर्षको अन्तिम समयमा लक्ष्य पूरा गर्न हरतरहबाट प्रयास गर्ने जिम्मेवारीमा बसेका राजस्व सचिव पुस्कर भने एक साता विदेशमै रमाए ।
अस्ट्रियामा करसम्बन्धी तालिममा भाग लिन असार २१ गते त्यसतर्फ गएका सचिव पुस्कर २७ मा मात्र मन्त्रालय आए । पूर्वअर्थमन्त्री जनार्दन शर्माले पुस्करको भ्रमण स्वीकृतिका लागि सबै व्यवस्था मन्त्रिपरिषद्बाट मिलाइदिएका थिए । चालु आर्थिक वर्षमा सरकारले कर र गैरकर गरी ११ खर्ब ८० अर्ब ६० करोड रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको छ । असार २७ सम्म १० खर्ब ८ अर्ब २३ करोड संकलन भएको छ । यो लक्ष्यको ८५.४ प्रतिशत हो ।
यो वर्ष गैरकर असुलीमा झनै समस्या देखिएको छ। सरकारले एक खर्ब १२ करोड रूपैयाँ गैर कर उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म ७५ अर्ब रूपैयाँ मात्र उठेको छ। यो लक्ष्यको ६६.८२ प्रतिशत हो । वर्ष सकिन ५ दिन बाँकी भएकाले अबका दिनमा सरकार राजस्व असुलीमा लक्ष्यको नजिक पुग्ने सम्भावना न्यून छ। राजस्व असुलीको यस्तो दुरवस्थालाई चटक्कै छोडेर जिम्मेवारी लिएका प्रमुख व्यक्ति भने साता लामो विदेश सयरमा रमाएर फर्केका छन् ।
अर्थ मन्त्रालयको एक महाशाखाका प्रमुखले यस्तो बेलामा विदेश जान खोज्ने सचिव, पठाउने मन्त्री र स्वीकृति दिने मन्त्रिपरिषद् कसैमा पनि राष्ट्रप्रतिको दायित्व के हो भन्ने नदेखिएको बताए। महाशाखाका ती प्रमुखका अनुसार कार्यक्रम सचिव नै जानुपर्ने कुनै विशिष्ट खालको थिएन। एक उपसचिवलाई पठाए पनि हुने करको सामान्य तालिममा राजस्व सचिवजस्तो व्यक्ति जानुलाई कसैले पनि राम्रो नमानेको महाशाखाका ती प्रमुखले बताए ।
प्रतिक्रिया दिनुहोस