
काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
बाबुराम समूहको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो आरोप लगाएका हुन् । बाबुराम र उपेन्द्र समूहबीच विवाद चर्किएको बेला बाबुराम समूहको बैठक मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । उता बुधबारदेखि वीरगन्जमा उपेन्द्र समूहको बैठक बस्दै छ ।
कम्युनिस्ट पाखण्डी, कांग्रेस खच्चड भएको विश्लेषण
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि यादवले एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधि सञ्चालन गरेको दाबी गरेका छन् । संख्यात्मक रूपमा पनि आप्mनो पक्षमा नै बहुमत रहको दाबी उनले गरेका छन् ।
तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलग्गिएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आप्mनो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको भट्टराईको भनाइ छ । जसपा विधानअनुसार पार्टीमा दुई अध्यक्षको व्यवस्था रहेकोमा ठाकुरले छुट्टै पार्टी गठन गरेपछि एक अध्यक्ष पद रिक्त रहेको थियो ।
‘गत साल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खाली थियो । मैले जनजाति एक जना जो भए पनि बनाउनुपर्छ भनेँ,’ भट्टराईले भने, ‘तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नुभएन । अहिलेसम्म पनि मान्नुभएको छैन ।’
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ठूला कम्युनिस्ट समूह हुन् । साना कम्युनिस्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसद्मा प्रतिनिधित्व गर्छन् । संसद्मा नभएका नेकपाका अन्य घटक वैध, विप्लप, आहुति, माले आदि अनेक समूह छन् । यी सबै कम्युनिस्ट पार्टी पाखण्डी नै भएको ठोकुवा उनको छ ।
प्रतिक्रिया दिनुहोस