aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

बिदेशी ऋण खर्चै नगरी ब्याज तिर्छ सरकार

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, ३० असार २०७९
बिदेशी ऋण खर्चै नगरी ब्याज तिर्छ सरकार

काठमाडौं । सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो ।

नेपाल सरकारले आर्थिक वर्ष २०७७/८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो वैदशिक ऋणमध्ये सरकारले १० अर्ब १० करोड ७२ लाखको मात्र खर्च गरेको छ ।

बाँकी करिब ७४ प्रतिशत अर्थात् २८ अर्ब ३१ करोडको भने प्रयोग नै नगरी ब्याज तिरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले प्राप्त ऋणको उपभोग नै नगरिएकाले ऋण रकमममा समेत ब्याज तिर्नुपर्ने अवस्थामा रहेको भन्दै वैदेशिक स्रोतको उपयोग क्षमता बढाउन भनेको छ ।

बजेट विनियोजन नै हचुवा
सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि गरेको बजेट विनियोजनमा नै महालेखाले प्रश्न उठाएको छ ।

मन्त्रालय र मातहतको निकायका लागि पुँजीगततर्फ सुरु विनियोजित बजेट १ खर्ब २३ अर्ब ९२ करोड ८३ लाखमा ६१ अर्ब १५ करोड १३ लाख (४९.३४) प्रतिशत र थप ४७ अर्ब १८ करोड १० लाख (३८.०७) घटाई १ खर्ब ३७ अर्ब ८९ करोड ८७ लाख बजेट कायम गरेकाले सुरु विनियोजन नै यथार्थपरक नदेखिएको महालेखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस