
काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका १ मान्बु श्याम्चेतमा पहिरो बगेपछि १२ वटा घर पुरिएको र ४० घर जोखिममा परेको स्थानीय कुमार लामाले बताए। बस्तीलाईबीच भागमा पारेर बगेको पहिरोले पुरै गाउँ जोखिममा परेको छ ।
‘एउटा घर बग्यो, १२ वटा पुरिएको छ, त्यो घरबाट मान्छेहरु उद्धार गरियो, अरु ४० घरमा पनि मानिस बस्न डराईरहेका छन्’ उनले भने ‘पहिरो तारन्तार आईरहेको छ कहाँ जाने भन्नेमा अन्यौल छ, मानिसहरु डराईरहेका छन् ।’ घर छाडेर सुरक्षित स्थान तर्फ स्थानीय गएको उनले बताए। स्याम्चेत गाउँमा एक सय १३ घर रहेको छ ।
मनबहादुर लामाको घर पहिरोले बगाएको छ । यस्तै केशबहादुर लामा, नरबहादुर लामा, भक्तबहादुर लामा, देउमाया लामा, मनबहादुर लामा, गोरे लामा, काजी लामा, मनबहादुर लामा (ख) फुलबहादुर लामा, काजी लामा, लामा लगाएतको घर पहिरोले पुरेको हो ।
यसअघि पनि त्यहाँ पहिरो बगेको थियो । बस्तीमा पहिरो बग्ने जोखिम भएपनि नियन्त्रणका लागि जाली भरिएको थियो । सोही ठाउँबाट पहिरो बगेर अहिले बस्तीमा पसेको महिला सञ्जालकी अध्यक्ष स्थानीय नरमाया लामाले बताईन । बुधवार साँझ ६ बजेतिर पहिरो बगेपछि स्थानीयको रुवाबासी चलेको उनले बताईन । ‘हतार हतार घर छाडेर भाग्दा को कहाँ गयो समेत पत्तो थिएन, अहिले पशुबस्तु सबै घरभित्रै छाडेर मान्छेको चाँही उद्धार भईरहेको छ’ उनले भनिन् ।
आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले सुरक्षाकर्मीको सहायताले उद्धारको प्रयास भईरहेको र आफू पनि त्यसतर्फ जाँदै गरेको बताए । बिस्थापितलाई त्रिपाल र खाद्यान्नको जोहो गर्ने तयारी भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस