
काठमाडौं । गण्डकी प्रदेशसभामा पहिलो पटक प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सम्बोधन गरेका छन् । पहिलो पटक बुधबार रोष्टमबाट उनको बोली सुन्न प्रदेशवासीले साढे ३ वर्ष कुर्नु पर्यो ।
गण्डकीमा सत्ताको जोडघटाउमा ३ पटकसम्म मन्त्री बन्ने शौभाग्य पाएका युवा तथा खेलकुद मन्त्री मनाङेले २०७५ माघ १४ मा सांसदको शपथ लिएका हुन् । २०७४ सालको चुनावमा मनाङबाट निर्वाचित उनी नेकपा (एमाले) को सरकारमा एक पटक र गठबन्धन सरकारसहित ३ पटक मन्त्री बन्ने गण्डकीका एकमात्र मन्त्री समेत हुन् ।
मन्त्रालयगत छलफलक्रममा कुरा उठेपछि जवाफ दिने सन्दर्भमा प्रदेशसभाको जारी १० औं अधिवेशनअन्तर्गत २६ औं बैठकमा बोल्नेक्रममा उनले केही अस्वभाविक शैली पनि देखाए । पटकपटक उनले चस्मा लगाउने–झिक्ने गर्दै दोहो(याई दोहो(याई मन्त्रीको हैशियतमा मन्त्रालयतगत उठेका प्रश्नको जवाफ दिएका हुन् । उनले आफूले बनाएको बजेट सबै कार्यान्वयन हुने र त्यसको कार्यविधिसमेत बनिरहेको जवाफ दिए । चालु आर्थिक वर्षमा ५ करोड फ्रिज हुने भएपछि सांसदहरूले प्रश्न उठाएकोले त्यो रकम सामाजिक विकास मन्त्रालयको रहेका र गलत तरिकाले आफ्नो मन्त्रालयमा तानिएको उल्लेख गरे ।
उनले अगाडि भने, ‘पाँच करोड युवा तथा खेलकुदको बजेट होइन । यसलाई गलत तरिकाले युवा तथा खेलकुद मन्त्रालयमा ल्याइएको रहेछ । यसरी बुझ्नुपर्छ । २ करोड ५० लाख म आफैंले बनाएको बजेट हो । त्यसलाई मैले कसरी लागु गर्ने मलाई थाहा छ । यसमा ३३ प्रतिशत खेलाडीलाई ३३ प्रतिशत अपांगलाई र ३३ प्रतिशत हामीले युवाहरूलाई सहभागी गराउने भनेर निर्णय गरेका छौं । त्यसको कार्यविधि बनाइरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस