aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

जसपाबाट निकालिए भट्टराई, उनको ठाउँमा अशोक राई

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, ३१ असार २०७९
जसपाबाट निकालिए भट्टराई, उनको ठाउँमा अशोक राई

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको छ ।

वीरगन्जमा बिहीबार सम्पन्न उपेन्द्र समूह केन्द्रीय समिति विस्तारित बैठकले अनुशासन कारबाही गर्दै उनीहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

नयाँ पार्टी गठन गर्दै भट्टराई

जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनका अनुसार पार्टी हितविपरीतको गतिविधिमा लागेका भट्टराईसहितका नेतालाई कारबाही गरिएको हो । साथै, बैठकले भट्टराईलाई कारबाही गर्दै संघीय परिषद् अध्यक्षमा पार्टी वरिष्ठ नेता अशोक राईलाई चयन गरेको छ ।

संघीय परिषद् अध्यक्ष डा. भट्टराईसहित कार्यकारिणी समिति सदस्यहरू महिन्द्रराय यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, भक्तबहादुर साह, रमेश यादव र दानबहादुर चौधरीलाई पदमुक्त गर्ने निर्णय भएको सुमनले जानकारी दिए ।

‘पार्टी हितविपरीतका गतिविधिमा लागेका नेतालाई कारबाही गर्ने निर्णय बैठकले गरेको छ । साथै, केही नेता बाटो बिराएकालाई सचेत हुन आग्रहसमेत गरिएको छ,’ समुनले राजधानीसँग भने, ‘पार्टी निर्णय तथा विधानको पालना गर्न सबैमा अपिल गरेका छौं ।’

जसपा कार्यकारिणी समितिका अर्का सदस्य प्रकाश अधिकारीले बैठकले पार्टीको विधान संशोधनसहित पारित गर्ने निर्णय गरेको बताए । पार्टीलाई पुनर्गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ । रिक्त कार्यकारिणी समिति सदस्य, केन्द्रीय सदस्यलगायत ठाउँमा पदपूर्ति अधिकार कार्यकारिणी समितिलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस