काठमाडौं । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूतले नेपालको अपमान हुने अभिव्यक्ति दिएका छन् । प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय समितिमा बोल्दै नेपालमा चीनको विरोधकै बीच एमसीसी परियोजना अनुमोदन भएको बताएका थिए । उनले चिनियाँ दुष्प्रचारका बीच नेपालको संसदले ५०० मिलियन डलरको एमसीसी परियोजना अनुमोदन गरेको बताएका थिए ।
यसको विषयमा चीनले भने आपक्ति जनाइसकेको छ । शुक्रबार काठमाडौंस्थित चिनियाँ राजदूतावासले विज्ञप्ति जारी गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग चीनलाई जोडेर थम्पसनले दिएको अभिव्यक्तिको खण्डन गरेको हो ।
चिनियाँ दूतावासका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा थम्पसनले चीनको निन्दा मात्र गरेको नभई नेपाल र नेपाली जनताको समेत अपमान गरेको बताइएको छ । देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति चीनको नरहेको बताउँदै विज्ञप्तिमा अन्तर्राष्ट्रिय विकास सहयोगलाई पछ्याउने क्रममा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिएको छ ।
नेपालको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ र कुनैपनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन भन्ने चीनको धारणा रहेको समेत आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस