aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

अब जडीबुटीको पनि बीमा हुने, कस्ता छन् प्रावधान ?

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, ०१ साउन २०७९
अब जडीबुटीको पनि बीमा हुने, कस्ता छन् प्रावधान ?

काठमाडौं । अब किसान र व्यवसायीले जडीबुटी खेतीको पनि बीमा गर्न सक्ने भएका छन् । जडीबुटी खेतीको बीमा गर्दा बीमाशुल्कको ८० प्रतिशत सरकारले अनुदान दिनेछ ।

बीमा समितिले शुक्रवार कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका जारी गरेर यस्तो व्यवस्था गरेको हो । उक्त निर्देशिका आर्थिक वर्ष (आव) २०७९/८० को शुरूदेखि लागू हुनेछ । साउन १ गतेदेखि आर्थिक वर्ष २०७९/८० शुरू हुँदै छ ।

सरकारले आगामी आवको बजेटमा जडीबुटी खेतीको बीमा गर्ने नीति ल्याउने घोषणा गरेको थियो । सोही बमोजिम समितिले प्रचलित कृषि तथा पशुपन्छी बीमा निर्देशिका संशोधन गरेर यस्तो व्यवस्था गरेको हो । यसको बीमाशुल्कमा सरकारले दिँदै आएको अनुदानसमेत पाइनेछ । सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिँदै आएको छ । त्यो जडीबुटी बीमाको हकमा पनि लागू हुने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘सरकारले आगामी आवको बजेटमार्फत जडीबुटीको पनि बीमा गर्ने नीति ल्याएको थियो । सोहीअनुरूप हामीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका संशोधन गरेर जडीबुटी पनि समावेश गरेका हौं,’ उनले भने, ‘साउन १ गतेदेखि बीमा कम्पनीहरूले जडीबुटीको पनि बीमा गर्न सक्छन् । त्यसमा अनुदानको पनि व्यवस्था हुनेछ ।’ कम्पनी आफैले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बीमालेखको हकमा भने अनुदान पाइने छैन । कम्पनीले अनुदान प्राप्त नहुने बीमा छोटो अवधिका लागि गर्न पाउने समितिको भनाइ छ । कृषि, पशुपन्छी र जडीबुटीको सामूहिक रूपमा बीमा गर्न सकिने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस