
काठमाडौं । सरकारले अनधिकृत पैठारीको जोखिम बढाउँदै विभिन्न १० वस्तुको आयातमा गत वैशाख १३ गते लगाएको प्रतिबन्ध लम्ब्याएको छ । असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिबन्ध आगामी भदौ १४ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने असार ३१ कै राजपत्रमा सूचना प्रकाशित गरी ती १० वस्तुको आयातमा आगामी भदौ १४ सम्म पूर्ण प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञ) को उद्देश्य प्राप्त गर्न यही साउन १ देखि आगामी भदौ १४ गतेसम्म ती वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको उल्लेख गरेको छ ।
यसअघि मन्त्रालयले वैशाख १३ गतेको राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न १० वस्तुको आयातमा असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो । उक्त म्याद नसकिँदै सरकारले भदौ १४ सम्म लम्ब्याएको हो ।
आयात प्रतिबन्धको म्याद थप्ने सिलसिलामा यसपटक सरकार एक कदम अघि बढेको देखिएको छ । यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको सरकारले अहिले १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० डलरभन्दा बढी मूल्यका स्मार्टफोनलाई प्रतिबन्धको सूचीमा राखेको छ ।
आयात प्रतिबन्ध लागेका अन्य वस्तुमा कुरकुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), रंगीन टेलिभिजन, जीप, कार र भ्यान, सबै प्रकारका खेलौना र खेल्ने तास छन् ।
सरकारले विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि यी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
आयातकर्ता व्यवसायीले भने यो प्रतिबन्धले अनधिकृत व्यापार बढाउने चेतावनी दिएका छन् । नेपाल समुद्रपार निकासी पैठारी संघले केही दिनअघि एक विज्ञप्ति जारी गरी असारसम्म लगाइएको प्रतिबन्ध नलम्ब्याउन आग्रह गरेको थियो । प्रतिबन्धले वैधानिक आयात रोकिए पनि अवैध आयात नरोकिने संघको दाबी छ ।
संघका वरिष्ठ उपाध्यक्ष विनोद सेठिया दक्षिणको खुला सीमाबाट मोटरगाडीबाहेक आयातमा प्रतिबन्ध लागेका हरेक सामान निर्बाध आइरहेको दाबी गर्छन् । ‘मोटरगाडी चाहिँ यहाँ ल्याएर दर्ता नगरी चलाउन नपाइने भएरमात्रै रोकिएको छ, त्यसबाहेक कुनै पनि वस्तुको आयात रोकिएको छैन,’ सेठियाले भने, ‘अवैध तरीकाले आइरहेको छ ।’
खुला सिमाना भएको कुनै पनि मुलुकमा प्रतिबन्धले आयात रोक्न नसक्ने उनी बताउँछन् । २०७६ असारमै पूर्ण प्रतिबन्ध लगाइएको इनर्जी ड्रिंक्सलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले भने, ‘विदेशी इनर्जी ड्रिंक्सको आयातमा प्रतिबन्ध लागेको ३ वर्ष भइसकेको छ तैपनि बजारमा विदेशी ब्रान्डको इनर्जी ड्रिंक्स सजिलै भेटिन्छ । त्यो कहाँबाट आयो ?’
प्रतिक्रिया दिनुहोस