काठमाडौं । अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गराएको आरोपमा विवादित बनेर राजीनामा दिन बाध्य बनेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन अन्तिम चरणमा पुगेको छ । उनको कार्यको तीब्र विरोध भएपछि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले मोटामोटी छलफल सकाएको छ भने समितिले अब निचोड निकाल्नेतिर ध्यान केन्द्रीत गरेको बताइएको छ ।
समितिको बैठक अहिले साढे १० बजे बस्ने र समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग पनि आजै छलफल गर्नेतयारी गरेको छ ।
असार २२ गते गठन गरिएको समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिएका छन् । ६ दिनसम्म समितिले अर्थ मन्त्रालयका विभिन्न तहका कर्मचारीहरूसँग छलफल गर्नेदेखि मन्त्रालयमै पुगेर निरीक्षण गर्नेसम्मको कार्य गरेको छ ।
छानबिन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । समिति सदस्य पुष्पा भुसाल उपसभामुख बनेपछि कांग्रेसका अर्का सांसद मानबहादुर विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।
संसदीय छानबिन समिति गठन भएसँगै शर्माले अर्थमन्त्रीपदबाट राजीनामा दिइ सकेका छन् ।
प्रतिक्रिया दिनुहोस