
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मर्जरको लहर पच्छयाउँदै बीमा कम्पनीहरु पनि मर्जरमा जान थालेका छन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ ।
नेपाली बीमाको इतिहासमा पहिलोपटक दुई वटा बीमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार सुरु गरेसँगै नेपाली बजारमा बीमा कम्पनीहरूको संख्या घट्ने भएको छ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बीमा समितिले मर्जर स्वीकृति दिएसँगै आइतबारबाट एकीकृत कारोबार शुभारम्भ भएको हो ।
एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले औपचारिक रुपमा गर्दै बीमा कम्पनीहरुमा अस्वस्थ प्रतिष्पर्धा तथा अहिले कायम रहेको बिमा कम्पनीको पुँजीले बढ्दै गएको दायित्व वहन गर्न नसक्ने भएकाले बीमा कम्पनीको मर्जर जरुरी भएको बताए । उनले बिमा कम्पनीले पोलिसी बेच्ने तर पोलिसी अनुसार दायित्व वहन गर्न नसक्दा सिंगो बीमाको बजार बदनाम भएको तथा बीमा कम्पनीप्रतिको विश्वसनियतामा कमी भएकोले बीमा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । नेपालमा कतिवटा बीमा कम्पनीहरु चाहिन्छ भनेर हालसम्म अध्ययन नै नभएको भन्दै उनले अब बीमा समितिले अध्ययन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस