
नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ । भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ ।
स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियमको खोजीमा छ। सुरुमा भारतीय अधिकारीले काठमाडौँमै युरेनियम भएको सूचना पाएको भन्दै त्यसको जानकारी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिएको थियो । यी निकायबाट केही जानकारी नआएपछि भारतीय प्रहरीले सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोलाई पनि यसबारे सूचना दिएको थियो । सशस्त्रको इन्टेलिजेन्स ब्युरोले काठमाडौंमा यसको कारोबार हुन सक्ने भन्दै खोजी गरिरहेका बेला भारतीय टोली नेपालको सुरक्षा निकायसँग समन्वय गर्दै यहाँ आएको स्रोतको दाबी छ । नेपाल प्रहरीले भने यो विषयमा जानकारी नभएको जनाएको छ ।
सुरक्षा निकायसम्बद्ध उच्च स्रोतका अनुसार नेपालबाट युरेनियम भारततर्फ निकासी गर्न लागेको सूचनालाई आधार मानेर उनीहरू नेपाल आएका हुन् । उनीहरूले नेपाली सुरक्षा अधिकारीको विश्वास नगरेर आफैं कोभर्ड अप्रेसनका लागि आएकाले नेपाली सुरक्षा अधिकारीले सकारात्मक मानेका छैनन् । ‘सूचना दिनु सकारात्मक कुरा भए पनि उनीहरू आफैं आउनु राम्रो कुरा होइन,’ एक सुरक्षा अधिकारीले भने ।
नेपालमा पहिलोपटक २०७७ फागुन २७ गते युरेनियम बरामद भएको थियो । २२ करोड अमेरिकी डलर पर्ने भनिएको सो युरेनियम काठमाडौं बौद्धबाट बेच्न खोज्दा सूचना चुहिएर बरामद भएको थियो । रामेछाप स्थायी घर भएका अम्बर तामाङले २० वर्षअघि भारतबाट नेपाल फर्कंदा युरेनियम ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उनकी बुहारी जानुका त्यो युरेनियम बेच्न ग्राहक खोज्दै हिँडेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस