
काठमाडौं । काठमाडौँ महानगरपालिकाले अबको ७ दिनसम्म घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न आग्रह गरेको छ ।
बुधबार काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पुर्याउन उक्त निर्णय गरेको हो ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएकोले समितिको बैठकमा यही अनुरोधका विषयमा छलफल गर्दै स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय भएकोले उक्त अवधिभर फोहोर उत्पादकलाई अनुरोध गर्ने र सडकको फोहोर पोको बनाउँदै व्यवस्थापन गर्ने निर्णय भएको महानगरले जनाएको छ ।
यस्तै महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस