
काठमाडौं । बाराका सरकारी कार्यालयका पर्खाल र भर्याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो ।
मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् ।
जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् तर त्यसको उपेक्षा हुँदै आएको छ । कतिपयले भगवानका तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ ।
नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भने, “सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध गर्यौं तर अनुरोध नमानेपछि भर्याङका भित्तालाई सफा राख्न भगवानका तस्बिर टाँस्नुपरेको हो ।”
उनले भगवानका तस्बिरमा थुक्न थालेकाले यसलाई नियन्त्रण गर्न अरू उपाय अपनाउनुपर्ने देखिएको बताउए । यस्तो प्रवृत्ति बारामा मात्र नभई अन्य जिल्लामा पनि उत्तिकै रहेको पाइन्छ । पर्खालबाहिर शौच गरिदिने भएकाले पर्खालमा भगवान तस्बिर राखिएको सरकारी कार्यालयका कर्मचारीहरू बताउँछन् । मालपोत कार्यालय बाराका प्रमुख गोपालप्रसाद बरालले दिनहुँ सेवा लिने सयौँ सेवाग्राहीले भित्ताभरि थुकेर रातो पारिदिएपछि त्यसलाई नियन्त्रण गर्न भगवान्का तस्बिर राख्नुपरेको बताए ।
प्रतिक्रिया दिनुहोस