aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

जंगली बँदेलले बाली सखाप पारेपछि थाल ठटाएरै रातभर जाग्राम

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, ०८ साउन २०७९
जंगली बँदेलले बाली सखाप पारेपछि थाल ठटाएरै रातभर जाग्राम

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–१० मा जंगली बँदेलले आतंक नै मच्चाएको छ। बँदेलले मकै नष्ट गर्न थालेपछि किसान चिन्तित छन्। बँदेल धपाउँदैमा किसानको समय बित्ने गरेको छ। ‘साँझपख बारीतिर पस्छ, रातभरी मकै खाएर बिहान जंगल छिर्छ’, चिउरीपाटीका किसान कृष्ण विडारी भन्छन्, ‘बँदेलको बथान दिउँसै पनि बारीमा आइपुग्छ।’

विडारीले २ रोपीमा मकै लगाएका थिए। अदुवा पनि लगाएका थिए। अहिले विडारीको बारीमा एक घोगा मकै ठाढो छैन। ‘दारा निस्किएका भैंसी जत्रा माउ बँदेलहरु छन्। बच्चाहरु नै पाडापाडी जत्रा छन्। चाररपाँच वटा बच्चासहित आएका बँदेलले छिनभरमै मकै भसक्कै पारिदिन्छ’ विडारीले यथार्थ सुनाए।

वस्ती नजिकै जंगल छ। एउटा माउ बँदेलसँग ४र५ वटा बच्चा आउँछन्। दुधिलो मकै सोत्तर पारेर जान्छन्। दिउँसोको समसमा गाउँलेहरुले मिलेर ढुंगामुढा गर्छन्। तर रातको समयमा कताबाट छिर्छ पत्तै नहुने र एकै रातमा दुईरतीन रोपनी लगाएको मकै नष्ट गरिदिने केवलपुरका किसान रामजी पौडेलले बताए।

केही वर्षअघिदेखि कताकति मकै, धान, गहुँ, अदुवालगायत खेतीमा बँदेलले क्षति पुर्‍याए पनि यो वर्ष हुलका हुल नै आइपुगेको किसानहरुले बताएका छन्। एकैदिन ३र४ ठाउँमा मकै नष्ट गर्ने गरेकोले पनि बँदेलको बथान ठूलै भएको किसानहरुले अनुमान लगाएका छन्। केवलपुरका किसान पौडेल भन्छन्, ‘लखेट्न जाँदा मान्छेलाई आक्रमण गर्ने हो की भन्ने त्रासले नजिक पुग्नै सकिदैन।’

प्रतिक्रिया दिनुहोस