aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

कीर्ते बैंक ग्यारेन्टी मुद्दामा मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
कीर्ते बैंक ग्यारेन्टी मुद्दामा मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । 
  
सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले  एक करोड १० लाख ८० हजार रुपैयाँको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको हो । उनहरुले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको देखिएको ठहर भएको  छ ।

अदालतको आदेशमा मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई फरार अभियुक्त भनेर अदालतले भनेको थियो । अन्य अभियुक्तहरू छबिलाल ढकाल, रणधिर तुम्बा र देवजंग शाहीलाई अदालतमा उपस्थित गराइएको थियो । उपस्थित भएका तीनैजनालाई बैंकिङ कसुर अन्तरगत अदालतले ६ लाख बराबरको धरौटी मागेको छ ।

मन्त्री खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ । ५५/५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो ।

प्रतिक्रिया दिनुहोस