aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
काम नगर्ने दुरसञ्चार लाईसेन्सधारी कम्पनी खारेज गरिनेः अध्यक्ष झा

काम नगर्ने दुरसञ्चार लाईसेन्सधारी कम्पनी खारेज गरिनेः अध्यक्ष झा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ पुस २०७५
काम नगर्ने दुरसञ्चार लाईसेन्सधारी कम्पनी खारेज गरिनेः अध्यक्ष झा

काठमाडौं, पुष ११ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बुधबार पत्रकार सम्मेलन गर्दै आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका छन् । साथै दुरसञ्चार सेवा दिने लाइसेन्स लिरहेको तर सेवा नदिएको कम्पनी खारेज गर्ने बताएको छ ।

उनले भने,‘मलाई कुनै पदको लोभ छैन । भोलि त्यस्तै अवस्था आयो भने, म स्वेच्छाले यो सरकारलाई सजिलो पार्नलाई, किनभने मेरो कारणले यदि सम्माननीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु ।’

दुरसञ्चार सेवाको लाइसेन्स लिने ६ वटा कम्पनी छन् । यी मध्ये सेवा दिने २ वटा मात्र छ नेपाल टेलिकम र एनसेल । बाँकी ४ वटा कम्पनीले लाईसेन्स लिएर काम गरेनन्’ झाले भने तीन वटा कम्पनीका लाईसेन्स तत्काल खारेज गर्छु । स्मार्ट सेललाई बढीमा ६ महिना काम गर्न मौका दिन्छु ।’ स्मार्ट सेलका केही ग्राहक देखिएकोले तत्काल लाईसेन्स खारेज गर्दा ग्राहकलाई समस्या पर्ने भएकाले उसलाई प्राधिकरण समक्ष बुझाएको र योजना अनुसार काम गर्न मौका दिने समेत बताए ।

काम नगर्ने कम्पनीको लाईसेन्स खारजे गरी नयाँ कम्पनीलाई लाईसेन्स दिने उनले बताए । ‘विदेशी लगानीकर्ता आएका छन्, उनीहरुलाई लाईसेन्स दिन सकिन्छ । नयाँ कम्पनी ल्याएर बजारमा प्रतिस्पर्धाको वातावरण बनाउँछु । त्यसपछि उपभोक्ताले प्रतिस्प्रर्धाको लाभ लिन पाउनेछन् ।’

अध्यक्ष झाले कार्यक्रममा बोल्दै ‘आज सम्म कुनै अपराध नगरेको र दण्डित नभएको नामले चिनिएँ । मैले कुनै पनि काम आज सम्म गलत गरेको छैन, म माथि कसैले औंलासमेत उठाएको छैन ।’

उनले भने ‘म जस्तो कर्मठ राज्य सेवकलाई कुनै आरोप नै छैन । त्यसैले मिडियामा आउनु मानहानी भयो । अहोरात्र काम गर्दापनि बिना कुनै कारण सत्तारुढ दल नेकपाका नेताहरुको राजनीतिक झगडामा आफूलाई मुछेर चरित्र हत्या गर्ने प्रयत्न भएकोमा उनले आपत्ति जनाए । उनले भने,‘मलाई बदनाम गरिएको छ । कुनै गल्ती नै नगरेको र आरोप नै नलागेको मजस्तो व्यक्तिलाई आज आरोपित गरिएको छ । उहाँहरुले त भ्रष्टाचारी नै ठहर गरिदिनुभएको छ । यसप्रति म निकै खिन्न छु । दुःखी छु । उहाँहरुको आफ्नो राजनीति होला, तर आफ्नो राजनीतिमा मलाई एउटा गोटीको रुपमा प्रयोग गरिँदैछ । यही दुःखको कुरा हो ।’

उनले भने ‘यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले गरेका राजनीतिक नियुक्त खारेज गर्ने वर्तमान सरकारको निर्णय विरुद्ध म अदालत गए । अरु पनि अदालत गए । अरुले अदालतबाट पुर्नवहाली लिए । मैले म जागिर खान आएको होइन काम गर्न आएको हो भनेर मुद्दा नै फिर्ता लिए । पछि वर्तमान सरकारले पनि मलाई विश्वास गर्यो । मेरो क्षमताको पनि कदर गर्यो । सरकारले मलाई नियुक्ती दियो । मैले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छु ।’

तर, एकजना पूर्वमन्त्रीले मलाई प्रभाव पार्न दिगम्बर झा आउनुभएको थियो भनेर तपाईमाथि गम्भिर आरोप लगाउनुभएको थियो नि ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘२०६८ सालमा उहाँ मन्त्री हुनुभएको थियो । म त्यो बेलामा आयल निगमबाट निस्किएको थिएँ । दुई कार्यकाल पुरा गरेर म निस्किएको थिएँ । मैले उहाँलाई त्यो बेलामा यदि कुनै प्रकारको प्रलोभन वा घुस नै दिन गएको थिएँ भने उहाँले मलाई त्यही बेला समात्न सक्नुहुन्थ्यो किनकी उहाँसँग त पुलिस थियो । अंगरक्षक थियो ।

दोस्रो कुरा, ठीक एक वर्षपछि उहाँकै पार्टीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उहाँले मलाई अध्यक्षमा नियुक्ती गर्नुभयो । त्यो बेलामापनि उहाँ बोल्न सक्नुहुन्थ्यो नि । तर, ७ वर्षपछि उहाँले बिना आधार, बिना कुनै कारण यो आरोप लगाउनुभयो । यो पनि असाध्यै आपत्तिजनक छ । यो मेरो मानहानीको खिलाफ हो । म यसको उपचारको लागि अदालत जान सक्छु । क्षतिपूर्तिपनि माग्न सक्छु ।’

आफू कुशल, योग्य र कर्तव्यनिष्ठ प्रशासक भएकोले नै बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा प्राधिकरणको अध्यक्षमा नियुक्ती दिएको पनि झाले दाबी गरे । उनले भने,‘त्यतिवेला एक महिनापनि काम गर्न पाएको थिईंन, सर्वोच्च अदालतमा रिट पर्यो । म दुई वर्ष काम गर्नबाट बञ्चित भएँ । र, ०७१ देखि ०७४ सम्म मैले काम गरें । झाले आफूले गरेको काम राम्रो भएको विज्ञ सम्मिलित समितिको निश्कर्षपछि २०७४ साल मंसिरबाट फेरी आफूलाई दोस्रो कार्यकालको लागि नियुक्ती गरिएको स्पष्ट पारे ।

वर्तमान सरकारले खुल्ला प्रतिष्पर्धामार्फत उक्त रिक्त पदकोलागि विज्ञापन गरेपछि आफूले पनि प्रतिष्पर्धा गरेको र पहिलो नम्बरमा नाम निस्किएको उनले जनाए । उनले भने,‘म लगायत हामी १७ जनाले आवेदन दिएका थियौं । त्यसमा तीन जनाको नाम सिफारिश भयो । एक नम्बरमा मेरै नाम सिफारिश भयो । र, वर्तमान सरकारले भदौं २१ गते मलाई पूनः नियुक्ती गर्यो ।’

आफ्नो नियुक्तीपश्चात् सत्तारुढ दल नेकपाकै नेताहरुले केही कुरा उठाएको सुनाउँदै झाले भने,‘मलाई उहाँहरुले विवादित, भ्रष्टाचारी र अयोग्य भनेर भन्नुभयो । दूरसञ्चार प्राधिकरणलाई म आउनुभन्दा पहिले त्यति मान्छेले नै चिनेका थिएनन् । तर, म आएपछि यसलाई चिनाएँ । मेरो काम सन्तोषजनक भएकोले नै देउवा सरकारको पालामा अर्कोपटक नियुक्ती भएको हो । म कुनैपनि राजनीतिक दलसम्बद्ध व्यक्ति होईन् । म कोही दलसँग नजिक पनि छैन् । म यो देशको विशुद्ध व्यवसायिक व्यक्ति हुँ । म कुशल व्यवस्थापकको रुपमा स्थापित भएको छु ।’

उनले आफू विवादित व्यक्ति नभएर चर्चित व्यक्ति भएको पनि बताए । उनले भने,‘यो देशमा यदि दुई चार जना यदि कुशल प्रशासकको नाम आउँछ भने त्यसमा मेरो पनि नाम पर्छ । त्यसैले म चर्चित व्यक्तित्व हुँ । तर, विवादित होईन् । भ्रष्टाचारको कुरा गर्नुहुन्छ भने सावित हुने त परको कुरा हो, कुनै काण्डमा आजसम्म म आरोपित पनि भएको मान्छे होईन ।’ यो–यो ठाउँमा दिगम्बर झाले गलत गर्यो भनेर कसैलेपनि आजसम्म औंलासमेत उठाउन नसकेको उनले स्पष्ट पारे ।

नेकपाको स्थायी समितिको बैठकमा समेत विभिन्न नेताहरुले आफूलाई गलत आरोप लगाएको कुरा मिडियामार्फत बाहिर आएकोमा टिप्पणी गर्दै उनले यसले आफू मर्माहत भएको र खिन्न भएको गुनासो पोखे । उनले भने,‘म निकै दुःखी भएको छु । त्यतिमात्रै होईन, मसँग सम्मानीय प्रधानमन्त्री र माननीय मन्त्रीज्यूको नामसमेत जोडिएको छ । उहाँहरुबीच आपसमा केही राजनीतिक कुरा भए गर्दा हुन्छ, हामीलाई केही फरक पर्दैन् । तर मजस्तो एउटा कर्मठ र ईमानदार राष्ट्रसेवकलाई खुलेआम सञ्चारमाध्यमहरुमा भ्रष्टाचारी सावित गर्नु, जबकी कुनै आरोप नै छैन् । यो दुःखको कुरा हो।’

उनले यस्तो आरोपले आफ्नो चरित्र हत्या भएको गुनासो पोखे । उनले भने,‘मेरो प्रतिष्ठामा आँच आयो । चरित्र हत्या भयो । मेरो मानहानी भयो । यसको लागि म भोलि अदालत गएर न्याय माग्न सक्छु । मानहानीको क्षतिपूर्तिपनि माग्न सक्छु ।’ नेपाल सतिले सरापेको देश भनिएको सुनाउँदै उनले आफ्नो हकमापनि त्यही भएको गुनासो पोखे । उनले भने,‘राम्रो काम गर्नेको यो देशमा कहिल्यैपनि भलो हुँदैन् ।’

उनले अल्पसंख्यक वा मधेशी समूदायको भएकै कारणले आफूमाथि यस्तो प्रहार भएको हो कि भनेर अहिले आफू सोच्नपनि बाध्य भएको सुनाए । झाले भने,‘समावेशी सिद्धान्तअनुसार आजको मितिमा दिगम्बर झाबाहेक कार्यकारी पदमा कोही पनि छैन् । एकजनालाई पनि बर्दास्द गर्न नसक्ने हाम्रो कस्तो समाज हो ? हामी कस्तो समाज विकास गर्दैछौं ?’ आफूलाई केही नचाहिएको उल्लेख गर्दै उनले यो देशमा काम गरेर देखाउन सकिन्छ भनेर नै आफू दिनरात लागिपरेको झाले स्पष्ट पारे ।

आफूले ग्रामिण क्षेत्रमा बसोबास गर्ने सबैमा ईन्टरनेटको पहुँच पुर्याउनको लागि काम गरेको पनि उनले सुनाए । उनले भने,‘सबै गाउँमा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच स्थापित गर्नको लागि काम गरेको छु । डिजिटल लिटरेसीको कार्यक्रम अघि बढाएको छु ।’

नेपालको आफ्नै ‘स्याटलाईट’ हुनुपर्छ भनेर सोहीअनुसारको काम पनि आफूले अघि बढाएको झाले जनाए । नेपाललाई नविनतम प्रविधिबाट बञ्चित गर्नु हुँदैन भनेर ‘फोर–जी’ ल्याएको पनि उनले सुनाए । उनले भने,‘अब फाईभ–जी कसरी ल्याउने भन्नेतिरपनि लागिरहेको छु ।’ ‘मोवाईल डिभाईस म्यानेजमेन्ट सिष्टम’ र ‘ईन्टरनेश्नल कल मनिटरिङ’ जस्ता धेरै काम आफूले प्राधिकरणबाट अघि बढाएको उनले फेहरिस्त पेश गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘डिजिटल नेपाल’ को सपना साकार पार्नको लागि आफू अहोरात्र खटिरहेको पनि उनले विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस