aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
खुलामञ्चका सटर हटाउन वैशाखसम्मको अल्टिमेटम, ठेकदारले नभत्काए सर्वसाधारणले भत्काइदिने

खुलामञ्चका सटर हटाउन वैशाखसम्मको अल्टिमेटम, ठेकदारले नभत्काए सर्वसाधारणले भत्काइदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
खुलामञ्चका सटर हटाउन वैशाखसम्मको अल्टिमेटम, ठेकदारले नभत्काए सर्वसाधारणले भत्काइदिने

काठमाडौं । राजधानीको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर तथा स्टल वैशाख मसान्तसम्म हटाउन स्थानीयले काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएका छन् । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीय आन्दोलित भएका हुन् ।

तोकिएको अवधिभित्र नभत्काए आफैँ भत्काउने चेतावनी स्थानीयको छ । काठमाडौं–६ का सांसद भीमसेनदास प्रधानले अतिक्रमण गरी बनाइएका सटर वैशाख मसान्तसम्म भत्काउन महानगरपालिका र सम्बन्धित ठेकेदार कम्पनीलाई अल्टिमेटम दिएको बताए । ‘खुलामञ्च अतिक्रमण गरी सार्वजनिक सम्पत्ति व्यक्तिले दोहन गरेको पाइयो, यो गैरकानुनी हो । हामीले महानगरपालिका र सम्बन्धित ठेकेदारलाई वैशाख मसान्तसम्म सबै सटर भत्काउन भनेका छौँ । तोकिएको अवधिमा नभत्किए जनता आफँैले सटर भत्काउनेछन्,’ उनले भने ।


अतिक्रमणविरुद्ध सांसद प्रधानसहित, नयाँ शक्ति पार्टीकी युवा नेतृ मानुषी यमीलगायत स्थानीयले बिहीबार विरोध प्रदर्शन गरेका छन् । उनीहरूले ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । ‘हामीले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीसँग गणतन्त्र दिवससम्ममा खुलामञ्च खाली गरिनुपर्छ भनेका छौँ । यदि भएन भने महानगरपालिकाकै मिलेमतो भएको पुष्टि हुन्छ । त्यो अवस्थामा हामी आफैँ खुलामञ्च प्रवेश गरेर अतिक्रमण गरी बसेकालाई हटाउँछौँ,’ यमीले भनिन् ।
 
महानगरपालिकासँगको सम्झौताविपरीत ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर ४० भन्दा धेरै सटर बनाई भाडामा लगाएको छ । ठाउँ उपलब्ध गराएबापत कम्पनीले प्रत्येक व्यापारीबाट प्रतिसटर १५ लाख रुपैयाँसम्म सलामीसमेत उठाएको छ । सलामी रकम नबुझाउने व्यापारीलाई कम्पनीले बसपार्क प्रवेशमै रोक लगाएको छ । बसपार्कभित्रका नाङ्लो व्यापारीसँग भने प्रतिनाङ्लो ५० हजार रुपैयाँ उठाउने गरेको छ । सलामी रकम सुरुमा ठाउँ लिएबापतको मात्रै हो । भाडाबापत हरेक महिना १५ हजार रुपैयाँका दरले संकलन हुँदै आएको छ ।

खुलामञ्चसँगै रहेको दुईमाजू गुठीको करिब एक रोपनी जग्गा पनि अतिक्रमण गरी व्यापारिक प्रयोजनमा लगाइएको छ । ३२ वटा स्टल बनाइएको सो जग्गा प्रतिमहिना १५ हजार रुपैयाँ भाडा बुझाउने गरी गुठी संस्थानबाट लिइएको हो । तर, व्यवस्थापकले सोही जग्गा भाडामा लगाएर महिनामा झन्डै पाँच लाख रुपैयाँ संकलन गरिरहेको छ ।

गुठी संस्थानको ९ मंसिरको निर्णयले व्यवसाय गर्न भन्दै गोरखा भीमसेन–२ की अमृता भट्टराईको नाममा दिइएको हो । भट्टराईले मनोज भेटवाल, ऋषि बर्तौला, राजु श्रेष्ठ र भैरव भेटवालसँग मिलेर पाँच महिनादेखि जग्गा भाडामा लगाइरहेकी छन् । विनाटेन्डर दिइएको जग्गामा ३२ वटा स्टल बनाइएका छन् । 

प्रत्येक स्टलबाट प्रतिमहिना १५ हजार रुपैयाँका दरले भाडा संकलन हुन्छ । स्टल लिएबापत व्यापारीले व्यवस्थापकलाई प्रतिसटर सात लाख रुपैयाँ सलामी रकमसमेत बुझाइसकेका छन् । संस्थान र भट्टराईबीच भएको सम्झौताअनुसार पाँच वर्षका लागि जग्गा दिइएको हो । सम्झौतापत्रमा करारनामा दुवै पक्षको स्वतन्त्र सहमतिमा भएकाले अक्षरशः पालना गर्न दुवै पक्ष प्रतिबद्ध रहेको उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस