
काठमाडौं । देशको सङ्घीय राजधानी काठमाडौंभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ । जिल्ला निर्वाचन कार्यालय पनि काठमाडौंको रिङरोडभित्रै छन् । यद्यपि स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका विभिन्न पालिकाबाट चुनावमा स्पर्धा गरेका उम्मेदवारको पहुँच भने निर्वाचन कार्यालयसम्म भएको देखिँदैन ।
निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर स्थानीय निर्वाचन–२०७९ मा काठमाडौं जिल्लाबाट कुल तीन हजार ३१० जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये करिब दुई हजार १५० जना पराजित उम्मेदवारले निर्वाचन खर्च अझै पनि बुझाएका छैनन् ।
काठमाडौं महानगरपालिकाको निर्वाचनको अन्तिम परिणाम जेठ ११ गते घोषणा भएको थियो । कानुनबमोजिम असार ११ गतेभित्र निर्वाचन खर्च बुझाउनुपर्नेमा उक्त समयभित्र महानगरका १८१ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतले बताइन् । काठमाडौं महानगरपालिकामा विभिन्न पदका लागि ८२५ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये १९३ जनाले मात्रै आफ्नो निर्वाचन खर्च बुझाएका छन् । १२ जनाले त कानुनले तय गरेको समयसीमा बाहिर गएर निर्वाचन खर्च बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस