काठमाडौं । नेपालमा पाटेबाघको संख्यामा दोब्बरले बढेको छ । विश्वबाटै लोप हुने आशंकाले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशहरूले गरेको प्रतिबद्धता अनुरूप नेपालले सुरु गरेको बाघ संरक्षण कार्यले सन् २०२२ मा लक्ष्य पूरा गरेको हो। पछिल्लो गणनाको नतिजाअनुसार नेपालमा ३ सय ५५ वटा पाटेबाघ छन् ।
विश्व बाघ दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो राष्ट्रिय बाघ गणनाको रिपोर्ट सार्वजनिक गरे । गत वर्षको मंसिर १९ गते सुरु भएर फागुन २८ गते सम्पन्न बाघ गणनामा सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको उल्लेख छ । जहाँ १ सय २८ बाघ छन्। दोस्रोमा बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ र तेस्रो बढी पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाघ छन् । यस्तै चौथो शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा ३६ र पाँचौं बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको गणना रिपोर्टले देखाएको छ ।
यसरी ३ सय ५५ वटा पाटेबाघ पुगेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय गुलरिया बर्दियाका संरक्षण अधिकृत विनयकुमार झाले बताए । अघिल्लो गणनाको तुलनामा नेपालमा १ सय २० वटा पाटेबाघ बढेको छ । बाघ संरक्षणको प्रतिबद्धता गर्दा सन् २०१० मा नेपालमा १ सय २१ वटा बाघ थिए। सन् २०२२ को गणनामा दोब्बर बढाउने लक्ष्यभन्दा १ सय १३ वटा बाघ बढी छन्। सन् २०१८ को तुलनामा चितवनमा ३५, बर्दियामा ३८, पर्सा २३, शुक्ला २० र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा पाटेबाघ बढेका हुन् ।
प्रतिक्रिया दिनुहोस