
काठमाडौं । बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित सेयर सदस्य तथा वचतकर्ताहरुले धरान उपमहानगरपालिकामा घेराउ गर्दै मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका छन्।
पीडितहरुलाई न्याय दिलाउन ढिलाई गरेको र छानबिन समितिसँगको छलफलमा बस्ने क्रममा आइतबार मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध घेराउ र नाराबाजी भएको हो । छलफल औपचारिकरुपमा सुरुवात हुनुअघि मेयर साम्पाङले मलाई सोधेर पैसा सहकारीमा राखेको हो र ? भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको पीडितहरुको दाबी छ । मेयर साम्पाङले छलफलमा पीडितहरुकोतर्फबाट ५ जना मात्र प्रतिनिधिमुलुकरुपमा बस्न भन्दै बाहिरिएका थिए । त्यसलगत्तै पीडितहरु छलफलमा नबस्ने भन्दै बैठक कक्षबाट बाहिरिएर आन्दोलन चर्काएका थिए ।
संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाका अनुसार मेयरले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको कारण पीडितहरु आक्रोशित भएका हुन् । उनले भने,‘हामी छलफलको लागि गएका थियौं । मेयर साबले ५ जना मात्र बस्नुस् भन्नु भयो। त्यसैक्रममा उहाँले मलाई सोधेर पैसा राखेको हो र ? भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि यो अवस्था भएको हो ।’
बराह पीडितहरुले प्रहरीको घेरासमेत तोडेर मेयरकै कार्यालयसम्म पुगेका थिए । त्यहाँ आक्रोशित भिडले मेयरको कार्यालय बाहिरको सिसासमेत फुटाइदिए । घटना अप्रिय हुन नदिन जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा आफै पनि धरान आएका थिए । बराह पीडितहरुले मेयरले सम्बोधन गर्नुपर्ने र माफी मागेर बोलेको शब्द फिर्ता लिनुपर्ने माग राखेका थिए । साढे ६ बजेसम्म पीडितहरु मेयर साम्पाङविरुद्ध नाराबाजी गर्दै उपमहानगर परिसरमा बसेपनि उनले सम्बोधन नगरेपछि बराह पीडितहरु सोमबार ११ बजे घेराउ गर्न आउने भन्दै फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस