काठमाडौं । कोरोना संक्रमित संख्या ग्राफ दैनिक उकालो लागेर एक दिनमै झन्डै ९ सय पुगेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका बिरामी उपचार गर्न सातै प्रदेशका अस्पतालमा व्यवस्था गरेको छ ।
कोरोना संक्रमित बिरामीको चाप बढेपछि सहज उपचार गर्न मन्त्रालयले सातै प्रदेशमा १७ अस्पतालमा सेवा दिने व्यवस्था मिलाएको हो ।
एकैदिन ८ सय ९५ मा संक्रमण, दुई सातामा १६ को मृत्यु
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातै प्रदेशमा रहेका १७ संघ र प्रादेशिक अस्पताल व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश १ कोसी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगन्ज रहेका छन् ।
यसैगरी, बाग्मती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगन्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल छन् ।
२४ घण्टामा ८ सय ९५ संक्रमित
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार ६ सय २० जनामा संक्रमण देखिएको र एक जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस