
काठमाडौं । लगातार वर्षासँगै आएको बाढीपहिरोले देशका धेरै ठाउँमा जनधनको क्षति भएको छ । गृह मन्त्रालयका अनुसार एक महिनायता २९ जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन् । मनसुनजन्य विपत्मा परी ३६ जना घाइते भएका छन् । दुई हजार ५८८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
कास्कीमा पहिरोले घर पुरिँदा सोमबार बिहान एक जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ स्थित ऋषिवन क्षेत्रमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव सशस्त्र प्रहरीले फेला पारेको छ । राप्तीको बाढी पस्दा पर्यटकीय नगरी सौराहाको केही होटल डुबानमा परेका छन् । जसले गर्दा होटल व्यवसाय सञ्चालनमा बाधा पुगिरहेको छ । उता कोसी नदीमा आएको बाढीले सप्तरी जिल्लातिर खेतीयोग्य जमिन कटान भएको छ भने श्रीलङ्का टापु डुबानमा पर्ने सम्भावना बढेको छ ।
घर पुरिँदा एकको मृत्यु
पोखरा समाचारदाता रमेश पौडेलका अनुसार अविरल वर्षापछि पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको घर भत्किएको छ ।
चितवन समाचारदाता शालिग्राम नेपालका अनुसार रत्ननगर नगरपालिका ८ का ३० वटा होटल डुबानमा परेका छन्। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बूढी राप्ती नदीको बाढी पस्दा रिसोर्ट तथा होटल डुबानमा परेको बताए ।
प्रतिक्रिया दिनुहोस