काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा पचास जना भन्दा बढी सुरक्षाकर्मी लिएर सार्वजनिक कार्यक्रममा उपस्थिति हुन थालेका छन् । मंगलबार काठमाडौंको अनामनगरमा भएको एक कार्यक्रममा उपस्थित हुँदा शर्माले उक्त सङ्ख्यामा सुरक्षाकर्मी लिएर पुगेका हुन् ।
मंगलबार सिंहदरबारको पर्खाल नजिकै रहेको एक भवनमा अखिल नेपाल किसान महासंघले ३० औँ सहिद दिवस तथा ६९ औँ भिमदत्त पन्त स्मृति दिव मनाइएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथिमा अर्थमन्त्री शर्मा रहेका थिए । सो कार्यक्रममा जाँदा शर्माले प्रहरी उपरीक्षकको कमान्डमा प्रहरी निरीक्षक दुई जनासहित ५० जना भन्दा बढी सुरक्षाकर्मी लिएर पुगेका थिए ।
अर्थमन्त्री शर्माले यसरी सुरक्षाकर्मी भिड नै लगाएर हिँड्न थालेपछि उनको यो रहर हो की सुरक्षा चुनौती हो भन्ने आम सर्वसाधारणले टिका टिप्पणी गर्न थालेका छन् ।
यसअघि शर्माले चालू आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गराएको आरोपमा राजीनामा दिएका थिए । यसबारे छानबिन गर्न संसदीय छानबिन समिति समेत बनेको थियो । सो छानबिन समितिले शर्मालाई ‘क्लीन चिट’ दिएपछि शर्मा पुनः अर्थमन्त्री बनेका हुन् ।
शर्मा पुनः अर्थ मन्त्रालय फर्किएपछिको सार्वजनिक कार्यक्रममा सहभागी भएको यो पहिलो कार्यक्रम हो । उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा बदल्ने लक्ष्य बोकेर बजेट ल्याइएको जिकिर गरे ।
त्यस्तै,शर्माले कृषिमा आधारित उद्योगमार्फत देशमा कृषि उत्पादनमा आत्मनिर्भरता बढाउने र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने नीति सरकारको रहेको जानकारी दिए । उनले भने, ‘किसान नेतालाई आह्वान गर्न चाहन्छु, तपाईँहरूको अगुवाइमा अबको उत्पादन अभियान अघि बढोस्, काठमाडौँमा आयात हुने तरकारी वरिपरिका जिल्लाले पूर्ति गर्ने गरी अभियान चलाउनुहोस् । बुढा किसान खेतबारीको डिलमा उभिनुहोस्, युवा किसानलाई उत्पादनमुखी काममा लगाउनुहोस् ।’
प्रतिक्रिया दिनुहोस