aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मनसुनजन्य त्रासदीपूर्ण दुई महिनामा ३३ करोडभन्दा बढीको क्षति र ९७ जनाको मृत्यु

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, १९ साउन २०७९
मनसुनजन्य त्रासदीपूर्ण दुई महिनामा ३३ करोडभन्दा बढीको क्षति र ९७ जनाको मृत्यु

काठमाडौं । मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यो अवधिमा चार जना बेपत्ता तथा २ सय १५ घाइते भएको र ८ सय ७० परिवार प्रभावित भएका छन् । यसवर्ष मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ । दुई महिने अवधिमा १ सय ५७ घर पूर्ण रूपमा क्षति हुँदा २ सय ४७ घर आंशिक प्रभावित बन्न पुगेको छ । यो अवधिमा सबैभन्दा बढी ३८ घटना झापा र त्यसपछि २८ घटना सुनसरीमा भएको छ ।

कैलाली, अछाम, म्याग्दीमा सबैभन्दा बढी मृत्यु भएको छ । ती जिल्लामा यो अवधिमा पाँच(पाँच जनाको ज्यान गइसकेको छ । त्यस्तै, कञ्चनपुर, तनहुँ, धादिङ र बाग्लुङमा चार(चार जनाको ज्यान गएको तथ्यांक छ ।

यसैगरी, यही अवधिमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, गोरखा, प्युठान, कपिलवस्तु र दाङमा तीन(तीन जनाको ज्यान गइसकेको छ । यसै अवधिमा घटेका विपद्जन्य घटनाबाट सप्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, रोल्पा, गुल्मी, बर्दिया र सल्यानमा दुई(दुई जनाको मृत्य भएको छ ।

३३ करोड ११ लाखबराबरको आर्थिक क्षति

यसैगरी, इलाम, खोटाङ, सोलुखुम्बु, झापा, मोरङ, सुनसरी, सिराहा, सर्लाही, रौतहट, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपल्चोक, नुवाकोट, कास्की, स्याङ्जा, नवलपुर पूर्व, नवलपरासी, रूपन्देही, बाँके, डोल्पा, जुम्ला, कालिकोट, सुर्खेत, डोटी, दार्चुला र डडेल्धुरामा एक(एक जनाको यसै अवधिमा ज्यान गएको केन्द्रको तथ्यांकले देखाउँछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी र जनावरको आक्रमणमा परी यो समय धेरैको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस