काठमाडौं । आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति पक्का गर्न आज मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।
सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सहमति भएपछि त्यसलाई औपचारिक अनुमोदन गर्नका लागि बिहीबारका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । बुधबार गठबन्धनमा रहेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझाव अनुसार आजको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते नै दुवै तहको निर्वाचनको मिति तोक्ने बताइएको छ ।
निर्वाचन आयोगले निर्वाचनको लागि सम्भावित मिति सिफारिस गरेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको छ । प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन् । उनले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस