
काठमाडौं । चाडपर्वको सुरुवातमै उपभोक्ताले महंगी खेप्नु परेको छ । पछिल्लो समय विकास निर्माणका सामाग्री सहित दैनिक उपभोग्य बस्तुको मूल्य असाध्यै बढेको छ । चामल, दुध, नुन, मैदा जस्ता दैनिक उपभोग्य बस्तुसंगै जनैपूर्णिमा प्रयोग हुने रक्षाधागो, राखी र क्वाटीको मूल्य पनि आकासिएको छ ।
यसबर्ष गत बर्षको बजारमुल्य हेर्दा २० देखि ३० रुपैयाँले राखी, जनै र क्वाटीको मुल्य बढेको छ । २० रुपैयाँ पर्ने राखिको मुल्य बढेर ४० रुपैयामा पुगेको असन चोककी व्यापारी शर्मिला खड्कीले बताइन् । चाडपर्वको माग अनुसारको समान राख्दै व्यापार गर्दै आएका छौ गतको बर्ष भन्दा व्यापार घटे पनि समानको मुल्य बढेको बताइन् । आफुले पोहोर साल २० पर्ने ४० मा र ४५ पर्ने राखी अहिले ७० मा बेचिरहेको बताइन् । गत बर्ष रक्षापूर्णिमाको अघिल्लो दिन लगभग १० हजारको व्यापार हुन्थ्यो तर यस बर्ष भने व्यापार नै नभएको शर्मिलाले सुनाइन् ।
१ सय ४० पर्ने जनै यस बर्ष १ सय ८० पुगेको छ भने पोकामा पाइने क्वाटी १५० देखि २०० मा बिक्रि गर्दै आइरहेको अर्का व्यापारी सन्तोष गौतमले सुनाए । यस बर्ष टाढाका ग्राहक नआएकाले व्यापार नै नभएको गौतमले भने ।
प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।
“शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ,” यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन रहेको छ ।
गाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।
यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाट लगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।
तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।
जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।
खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरीत भएका गेंडागूडीबाट बनेको “क्वाँटी“ हो । जनैपूणिमाको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।
क्वाँटी पकाउने आ–आफ्नै तरिका हुन्छ, भूटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाँटि तयार पारिन्छ ।रक्षापूर्णिमाको दिन क्वाँटी खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वास रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई “न्वाँगी“ भनिन्छ ।
प्रतिक्रिया दिनुहोस