
काठमाडौं । आगामी निर्वाचनअघि नै कम्युनिस्ट पार्टीबीच एकीकरण गृहकार्य भए पनि अहिलेलाई ‘च्याप्टर क्लोज’ भएको छ । यद्यपि, कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गृहकार्य भने जारी छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकीकरणसहित अघि बढ्ने विषयमा शीर्षनेता पटकपटक सामूहिक तथा ‘वान टु वान’ छलफलमा जुटेका थिए । नेकपा एमालेबाहेकका कम्युनिस्ट पार्टीबीच एकीकरण विषयमा छलफल भए पनि निर्वाचनअघि ‘यो सम्भव नभएको’ नेताहरू बताउँछन् ।
यद्यपि, जसपासहितका पार्टीसँग मिलेर वाम गठबन्धन बनाउनेबारे छलफल जारी नै छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, सो पार्टीका सम्मानित नेता झलनाथ खनाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अभियान संयोजक वामदेव गौतमसहितका शीर्षनेताले पार्टी एकीकरण अभियान थालेका थिए । उनीहरू तत्कालीन नेकपा सचिवालयमा थिए । नौ सदस्यीय सचिवालयमध्ये पाँच नेताले पटकपटक एकीकरण प्रयाससमेत गरे ।
निर्वाचनअघि प्रगति शून्य एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आगामी निर्वाचनअघि नै एकीकरण विषयमा कुनै प्रगति नभएको बताए । निर्वाचनअघि पार्टी एकीकरण नहुने बताउँदै उनले निर्वाचनमा वाम गठबन्धन बनाउने गृहकार्य भने भइरहेको प्रस्ट पारे ।
आगामी निर्वाचनमा वाम गठबन्धन र कांग्रेसबीच चुनावी तालमेल हुने उनको कथन छ । एकीकृत समाजवादीले पार्टी महासचिव डा। बेदुराम भुसाल, उपमहासचिवद्वय डा. विजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय वार्ता समिति गठन गरेर यसबीच विभिन्न पार्टीका नेतासँग छलफल गरेको छ ।
वाम गठबन्धन गृहकार्य
माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन बनाउनेबारे गृहकार्य भइरहेको बताउँछन् । उनले पनि ‘आगामी निर्वाचनअघि पार्टी एकीकरण नहुने’ प्रस्ट पार्दै ‘निर्वाचनमा वाम गठबन्धन गरेर सहभागी हुने’ सुनाए । विभिन्न चरणमा पार्टी एकताका लागि छलफल भएको र त्यो जारी नै रहे पनि हाललाई एकीकरण नै हुन नसक्ने बताउँदै कम्युनिस्ट पार्टीबीच वाम गठबन्धन मात्रै हुने गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस