
काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जगेडा मन्त्रालयमा रूपान्तरण हुँदै गएको छ ।
मुलुक संघीयतामा गए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भने उच्चपदस्थ कर्मचारीले भरिभराउ छ । राजनीतिक र प्रशासनिक दुवै दृष्टिकोणले महत्त्वपूर्ण निर्णय लिने, निर्देशन दिने र समन्वय एवम् नियन्त्रण गर्ने निकायका रूपमा प्रधानमन्त्री कार्यालयलाई लिँदै आइए पनि यो निकाय अहिले उच्चपदस्थ कर्मचारी थुपारेर राख्ने अड्डा बनेको हो ।
संघीयताले अधिकारजति तल्लो तहमा गएपछि अनुभवी कर्मचारीहरू संघभन्दा प्रदेश र स्थानीय तहतिर खटाइनुपर्ने हो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेकामे भएर थन्किएका छन् । अहिले प्रधानमन्त्री कार्यालयमा मुख्यसचिवसहित ८ सचिव छन् । अधिकांश सचिवले पदीय जिम्मेवारीअनुसार काम पाएका छैनन् ।
मुख्यसचिव हुन्– शंकरदास वैरागी । लक्ष्मण अर्याल प्रशासन र नतीजा व्यवस्थापनको जिम्मेवारी लिएर बसेका थिए । उनले यसै साता अवकाश पाए । अर्यालको ठाउँमा सरकारले अर्थसचिव मधु मरासिनीलाई सरुवा गरेको छ । यस्तै, प्रधानमन्त्री कार्यालयमा सूर्यप्रसाद गौतम राष्ट्रिय सुरक्षा र सुशासन विभागको जिम्मेवारी लिएर बसेका छन् । सुरक्षा र सुशासनको हविगत जनताले देखेकै छन् ।
सचिव डा। रामप्रसाद घिमिरे बेकामे छन् । उनी प्रदेशमा सचिव थिए । देउवा सरकार आएसँगै प्रधानमन्त्री कार्यालय आएर थन्किए । प्रधानमन्त्री कार्यालयमै केही समयअघि वाणिज्य मन्त्रालयमा सचिव रहेका दिनेश भट्टराई प्रादेशिक समन्वय र सामाजिक विकास, आर्थिक तथा पूर्वाधार विकासको विभागीय जिम्मेवारीमा छन् ।
प्रतिक्रिया दिनुहोस