aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रधानन्यायाधीश चोलेन्द्रको महाअभियोगबारे छलफल हुने, केके छन पाँच वटा आधार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ साउन २०७९
प्रधानन्यायाधीश चोलेन्द्रको महाअभियोगबारे छलफल हुने, केके छन पाँच वटा आधार ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक पाँच महिना पहिला दर्ता भएको  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ ।  बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे सुरु हुनेछ । 

“०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२)एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,”  कार्यसूचीमा उल्लेख छ । 

सत्तारुढ गठबन्धनका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले मिलेर आज प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबरा विरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

तीन दलका ९८ जना सांसदले महाभियोग दर्ता गरेका हुन् । महाभियोग दर्तासँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन् । नेपालको संविधान, २०७२ को धारा १०१ को उपधारा २ मा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने व्यवस्था गरिएको छ । 

धारा १०१ को उपधारा २ मा प्रधानन्यायधीशमाथि महाभियोग लगाउन सकिने पाँच वटा आधार प्रस्तुत गरिएको छ । संविधान अनुसार प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन सकिने पहिलो आधार हो– संविधान र कानूनको गम्भीर उल्लंघन गरेमा ।

दोस्रो कारण हो– कार्यक्षमताको अभाव । तेस्रो कारणमा रहेको छ– खराब आचरण । इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगर्नु– महाभियोग लगाउन सकिने चौथौं आधार हो । प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन सकिने पाँचौं आधार हो– आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्नु ।

‘यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन्,’ संविधानको धारा १०१ को उपधारा २ मा लेखिएको छ ।

यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने व्यवस्था संविधानमा छ ।

महाआभियोग दर्ता भएपछि कुनै व्यक्तिको विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबीन गरी सिफारिस गर्ने प्रयोजनका लागि प्रतिनिधिसभामा एक महाभियोग सिफारिस समिति हुनुपर्ने संविधानमा उल्लेख छ । यो समितिमा प्रतिनिधिसभाका ११ जना जना सदस्य रहने व्यवस्था संविधानमा गरिएको छ ।

महाभियोग लागेपछि सम्बन्धित व्यक्तिले कारबाहीको अन्तिम टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन । महाभियोगको आरोप लागेको व्यक्तिलाई सफाइ पेश गर्ने मनासिब मौका पनि दिइनेछ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट पास भइ आएका विभिन्न विधेयक प्रमाणीकरणबारे सभामुखले जानकारी गराउने कार्यसूची पनि समावेश छ । 

प्रतिक्रिया दिनुहोस