
काठमाडौं । मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ । मौसमको पूर्व सूचना दिने मुख्य आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग र कृषि मन्त्रालयका संरचना स्थानीय तहसम्म नपुग्नु र अन्तरसरकारी निकाय समन्वय अभावका कारण सबै कृषकले मौसमसम्बन्धी सूचना पाउन नसकेका हुन् ।
कृषकलाई मौसमका सूचना प्रवाह गर्न स्थानीय तहकै भूमिका महत्त्वपूर्ण हुने भए पनि समन्वयको अभाव देखिँदा समयमा नै पूर्व सूचना पाउनबाट कृषक वञ्चित देखिएका छन् । जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना दिए पनि तल्लो तहमा सूचना प्रवाह गर्ने संयन्त्र नभएका कारण पनि कृषकले मौसमसम्बन्धी पूर्व सूचना पाउन नसकेको बताएको छ ।
मौसमी सूचनाले कृषकलाई कुन समयमा कुन बाली लगाउने, कुन समयमा बाली भित्र्याउने, मौसमअनुसार कृषिको उब्जनी कस्तो हुने भन्ने जानकारी कृषकलाई जरुरी पर्छ । गत वर्ष आएको बेमौसमी वर्षाका कारण झन्डै ८ अर्ब रुपैयाँको नोक्सानी कृषि क्षेत्रले बेहोर्नुपरेको थियो । जल तथा मौसम विज्ञान विभागले विषेश बुलेटिन जारी गरेको भए पनि स्थानीय तहसम्म सूचना प्रवाह हुन नसक्दा क्षति बढेको बताउँछन् विभागका महानिर्देशक कमलराम जोशी ।
प्रतिक्रिया दिनुहोस