
खाडी, मलेसिया, युरोप, अमेरिकालगायत मुलुकमा रोजगारीका लागि पठाउँदा ठगी गर्ने विषय नयाँ होइन । वैदेशिक रोजगारीका लागि ती मुलुक जाने युवालाई विभिन्न बहानामा ठगी गर्ने धन्दा मौलाइरहेका बेला छिमेकी मुलुक भारतमा काम लगाइदिने नाममा समेत यस्तै हुन थालेको छ।
सिनामंगलमा रहेको एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले भारतको विहारमा मासिक २०-२६ हजार भारतीय रूपैयाँ पारिश्रमिक दिलाउने भन्दै आठ युवालाई ठगी गरेपछि भारतमा पनि रोजगारीका नाममा युवालाई ठगी गर्ने गरिएको खुलेको हो।
कन्सल्टेन्सीमा काम गर्ने अनिल श्रेष्ठ र दीपक शाहलाई २० हजार रूपैयाँ बुझाएका कञ्चनपुर कृष्णपुर-९ का रमेशप्रसाद ओझाले रकम बुझाएको दुई महिना बित्दा पनि भारत जान नपाएको बताए। श्रेष्ठ र शाहले भारत, विहारको एटलान्टिक कन्स्ट्रक्सनमा मासिक २६ हजार भारु पारिश्रमिक पाइने भन्दै २० हजार रूपैयाँ लिएका हुन्,' उनले भने, 'रकम लिएपछि आजभोलि पठाइदिने भन्दै दुई महिना बित्यो।'
ओझाका अनुसार उक्त कन्सल्टेन्सीले आठ युवासँग एकैपटक रकम असुलेको हो। पटकपटक भारतको रोजगारीमा गइसकेका ओझाले विगतमा कुनै शुल्क तिर्न नपरेको बताए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस