
काठमाडौं । भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)मा लगानी तथा कारोबारमा संलग्न भएको ठहर गर्दै विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विशाल सिमेन्टका पूर्वसञ्चालक श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।
श्रेष्ठले ‘राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको’ अभियोगपत्रमा दाबी गरिएको छ । उनलाई सात वर्ष कैद सजायसमेत मागदाबी गरिएको छ ।
नेपालमा अवैध ‘क्रिप्टो कारोबार गर्ने गरेको’ आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले नुवाकोट विदुर नगरपालिका–२ भई काठमाडौं बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई पानीपोखरीबाट पक्राउ गरेको थियो ।
श्रेष्ठमाथि ‘अनुसन्धान गरेर कारबाहीका गर्न’ भन्दै अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो । सुरुमा ‘अभद्र व्यवहार’मा मुद्दा प्रक्रिया अघि बढाइएकोमा पछि ‘अनुसन्धानमा क्रिप्टो करेन्सीमा समेत संलग्न देखिएको’ जनाइएको छ ।
श्रेष्ठबाट बरामद मोबाइल, ल्याटपलगायत डिभाइस जाँचका लागि फरेन्सिक ल्याबमा पठाइएको थियो । ल्याबले बरामद डिभाइसबाट ‘क्रिप्टो करेन्सी कारोबार हुने’ तथ्य फेलापरेको रिपोर्ट दिएपछि सोही आधारमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
शंकास्पद रकम श्रेष्ठसमेत सदस्य रहेको भाइबर ग्रुप ‘फिटबेला एक्सचेन्ज’बाट क्रिप्टो करेन्सी कारोबार हुने गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । साथै, श्रेष्ठसँग रहेका विभिन्न बैंकमा जम्मा भएको रकम विषयमा पनि प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानक्रममा रोयल बैंक अफ क्यानडा, कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा रकम रहेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस