काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेट लागू भएको एक महिना नबित्दै असमान तरिकाले सरकारी कर्मचारीहरुको असमान तरिकाले तलब बढाएपछि नासुहरुले चरणवद्ध आन्दोलनको सुरुवात गरेका छन् । १५ साउनमा संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादाक्रमअनुसार तलब निर्धारण गर्न निर्देशन दिएपछि अर्थ मन्त्रालयले यस्तो विभेदपूर्ण तरिकाले नयाँ तलबमान गरेको भन्दै नासुहरुले आन्दोलनको सुरुवात गरेका हुन् ।
बजेट भाषणमा सरकार १५ प्रतिशत मात्रै तलब वृद्धि गर्ने घोषणा गरे पनि मर्यादाअनुसार तलब मिलान गर्न भन्दै उद्योग समितिमा उपसचिवहरूले संयुक्त रूपमा आवेदन दिएपछि कर्मचारीहरुको २४ प्रतिशतसम्म तलब वृद्धि गरिएको छ । संसदीय समितिमा बसेर सरकारले गरेका गलत कामको नियमन गर्ने काममा भूमिका खेल्ने सङ्घीय संसद् सचिवालयका उपसचिवहरू आफैले गलत बाटोबाट तलब वृद्धिका लागि भूमिका खेलेको पाइएको छ ।
यसरी तलब वृद्धि गर्दा विभेद भएको भन्दै नासुहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले मङ्गलवार बिदामा बस्ने घोषणा गरेका छन् । सोमबार सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरूको भेलाले मङ्गलवार देशभरिका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस