
एजेन्सीहरू । हङकङमा जारी प्रदर्शन ११ औँ सातामा आइपुग्दा सेलाउनुको सट्टा झनै तातिएको छ । हङ्कङको अशान्ति लगातार ११औँ साता पुग्दा त्यहाँको परिस्थिति झन् हिंसक बन्दै गएको छ भने हड्तालले पूरै सहर अस्तव्यस्त भएको छ।
प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार दोस्रो दिन पनि विमानहरूको उडानमा गम्भीर अवरोध उत्पन्न गरेका थिए। तर अहिले हङ्कङ विमानस्थल पुनस् सञ्चालनमा आएको छ।
मङ्गलवार र बुधबार दिउँसो एशियाको सबभन्दा व्यस्तमध्येको एक हङ्कङ विमानस्थलमा चेक इन पूरै स्थगित भयो । मध्यरातभन्दा अगाडि सुरक्षाकर्मी र धर्नामा रहेका प्रदर्शनकारीबीच मुठभेड भयो ।
त्यसपछि धेरै प्रदर्शनकारी बाहिर गए भने झन्डै ३० जनाले विमानस्थलमै रात बिताए । प्रहरीलाई भित्र आउन नदिन प्रदर्शनकारीहरूले बाटो थुनिदिएका थिए ।
एक प्रदर्शनकारीले आफूहरूसँग हतियार भएको अस्वीकार गर्दै भने, ‘यहाँ नारा लागेको छ। मैले त कुनै हतियार देखिनँ। उनीहरू केवल शान्तिपूर्ण रूपमा नाराबाजी गरिरहेका छन्।’ स्थानीय सञ्चारमाध्यमका अनुसार विमानस्थलबाट धर्नाकारीलाई हटाउन अदालतले विमानस्थलको अधिकारीहरूलाई अनुमति दिएको छ।
उता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकायले हङ्कङको सीमातर्फ चिनियाँ सेना अघि बढिरहेको जानकारी दिएको बताएका छन्।
चिनियाँ सरकारले प्रदर्शनकारीहरूको चर्को आलोचना गरेको छ । कतिपयले कतै चीनको धैर्य टुट्ने र उसले प्रत्यक्ष कारबाही गर्ने हो कि भन्ने आशङ्का गरेका छन् । तर बेइजिङसँग हस्तक्षेपका लागि कस्ता कानुनी विकल्प छन् र के उसले साँच्चिकै हङ्कङमा सैनिक कारबाही गर्ला त हेर्न बाँकी छ । हङ्कङमा चिनियाँ जनमुक्ति सेनाको उपस्थिति छ । बेसिक ल भनिने हङ्कङको सङ्क्षिप्त संविधान यसबारे प्रस्ट छ । सो संविधान सन् १९९७ मा यूकेले सो भूभाग चीनलाई हस्तान्तरण गरेपछि लागु भएको हो ।
चिनियाँ सैनिक हस्तक्षेप त्यतिखेर मात्र हुनसक्छ जतिखेर हङ्कङ सरकारले त्यसका लागि आग्रह गर्नेछ र त्यसको उद्देश्य सार्वजनिक कानुन व्यवस्था कायम गर्न र विपद्मा राहत पुर्याउनू हुनेछ । बेइजिङलाई समर्थन गर्ने हङ्कङ सरकारले पनि त्यस्तो आग्रह गर्न खोज्ला भन्ने कुरा असोचनीय भएको अधिकांश विश्लेषक ठान्छन् ।
सैनिक बल प्रयोग भए पनि नभए पनि हङ्कङको भूभागमा प्रजातन्त्रवादीहरूलाई हतोत्साही पार्न चिनियाँ सेनाले मार्चपा गरेको तस्बिर उक्त क्षेत्रका निम्ति घातक हुन सक्छ । त्यसले हङ्कङको अर्थतन्त्र अस्थिर बनाइदिन र अन्तर्राष्ट्रिय आलोचना निम्त्याउन सक्छ ।
सन् १९९७ यता हङ्कङमा चिनियाँ जनमुति सेनाका झन्डै पाँच हजार सैनिक छन् । चीन अध्येता एडम नी भन्छन् ( हङ्कङस्थित चिनियाँ सेनाको ग्यारिसन केवल चीनको सार्वभौमिकताको प्रतीकको रूपमा राखिएको छ ।
प्रदर्शनकारीलाई चीनको कडा चेतावनी
जुलाई ३१ मा सो ग्यारिसनले मौनता भङ्ग गर्दै एउटा भिडिओ सार्वजनिक गर्यो । त्यो भिडिओमा ुसबै परिणामका लागि तिमी नै जिम्मेबर भन्दै सैनिकहरू प्रदर्शनकारीतर्फ लम्किएको देखिन्छ । त्यसलाई चीनको एउटा चेतावनीको रूपमा अर्थ्याइयो । कतिपयले त्यसलाई चीनले हस्तक्षेप गर्ने डर देखाएर प्रदर्शनकारीलाई गलाउन खोजेको प्रयासको रूपमा हेरे ।
हालसम्म चीनको हङ्कङसम्बन्धी उच्च नीति निर्माता कार्यालयले प्रहरीले नै स्थिति नियन्त्रण गर्नेमा विश्वास प्रकट गरिरहेको छ । तर सो कार्यालयका प्रवक्ताले प्रदर्शनकारीहरूलाई चेतावनी दिँदै आगोसँग खेल्नेहरू त्यसैमा खरानी हुने बताएका थिए । सैनिक हस्तक्षेपका अतिरिक्त चीनले राजनीतिक दबाव तथा प्रदर्शनकारीहरूलाई व्यक्तिगत निसानामा पार्ने जस्ता कार्य पनि गर्न सक्नेछ ।
भेष बदलेर प्रहरीलाई प्रदर्शनकारीसँगै खटाइएको स्वीकार
हङ्कङ प्रहरीले आफ्ना केही अधिकारीलाई सरकारविरोधी प्रदर्शनमा प्रदर्शनकारीको भेषमा खटाइएको स्वीकार गरेको छ । ज्यादै हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पार्न त्यसो गरिएको उसले बताएको छ । प्रहरी प्रवक्ताका अनुसार केही अधिकारीले विभिन्न भेष बदलेर हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पारेका थिए । झडपका बेला सन्दिग्ध प्रहरी अधिकारीले प्रदर्शनकारीलाई पक्राउ गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीको स्वीकारोक्ति आएको छ । प्रदर्शनकारीहरूले प्रहरीको व्यवहारको छानबिन गर्न माग गरेका छन् । अमेरिकी सिनेटका रिपब्लिकन नेता मिच मक्कनेलले प्रदर्शनकारीविरुद्ध हुने हिंसक कारबाही पूरै अस्वीकार्य हुने भन्दै चीनलाई चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस