aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • विहीबार, २६ साउन २०७९
कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण

काठमाडौं । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ । बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । तर, परीक्षण दर बढाउने हो भने संक्रमितको संख्या पनि बढ्ने स्वास्थ्य विज्ञ बताउँछन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, पछिल्लो समय संक्रमितको संख्या धेरैले बढेको छ । संक्रमितसँगै मृत्युदर पनि बढेको अधिकारी बताउँछन् । बुधबार मात्रै ३ संक्रमितले ज्यान गुमाए । संक्रमणदर वृद्धि हुँदै गएकाले आगामी साताहरू जोखिमपूर्ण हुने विज्ञहरूको तर्क छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारी आगामी दुई साता संक्रमणदर उच्च रहने पूर्वानुमान गर्छन् । 

आगामी साताहरू गुणात्मक ढंगले बढ्ने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले पनि गरेको छ । कोरोनाको संक्रमण सबैभन्दा बढी काठमाडौंमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुलुकभर अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ७१ छन् । डा. अधिकारीका अनुसार, संस्थागत आइ्सोलसनमा २ सय १४ जना छन्। संस्थागत आइसोलेसनमा रहेका मध्ये ६४ जना सघन उपचार कक्ष (आईसीयू)मा छन् । ७ जना भेन्टिलेटरमा उपचाररत छन् । ‘अहिले संक्रमणको उच्च जोखिममा गुज्रिरहेका छौं,’ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘आगामी केही साताहरू हाम्रा लागि चुनौतीपूर्ण हुन्छन् ।’ अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ छ ।

प्रतिक्रिया दिनुहोस