aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चितवनमा हात्तीले लियो सयौं जनाको ज्यान

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, २७ साउन २०७९
चितवनमा हात्तीले लियो सयौं जनाको ज्यान

काठमाडौं । दसवटा मत्ताले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ । यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ । पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले मारेका मानिस ९९ पुगेका छन् । यसका साथै ठूलो परिमाणमा धनमालको क्षति पनि भएको छ । 

उदण्ड स्वभाव हुने मत्ताले यस्तो जनधनको क्षति गर्ने गर्दछन् । त्यस्तै उदण्डता देखाउन थालेपछि त्यसको मौलिक पहिचान दिलाउन अलि भिन्न प्रकृतिका नाम दिइन्छ । सामान्यतः भाले हात्तीलाई गज भनिने भए पनि उदण्ड हात्तीलाई उदण्डता झल्काउने धुर्बे, रोनाल्डो, गोविन्देजस्ता नाम दिइएको छ । यस्तै नाम दिइएकामध्ये मकुना हात्तीले सबैभन्दा बढी कोसी टप्पु आसपासमा क्षेत्रमा २८ जनाको ज्यान लिएको छ । त्यसपछि चितवन क्षेत्रमा रोनाल्डोले २२ जनालाई मारेको छ । 

धेरै चर्चामा आएको धुर्बे हात्तीले अघिल्ला दुईको भन्दा कम १८ जनाको ज्यान लिएको छ । रोनाल्डो र धुर्बेले अझै पनि चितवन, पर्सा, नवलपरासी क्षेत्रमा बेलाबेला उदण्डता मच्चाउने गरेका छन् । स्थानीयवासीलाई धेरै दुःख दिन थालेपछि हात्ती ओहोरदोहोर क्षेत्रमा स्थानीयवासीले करेन्ट छाड्दा मकुनाको करेन्टका कारण मृत्यु भइसकेको छ । चितवन, पर्सा क्षेत्रमा गोविन्दे नामक मत्ताले आठ जना र गणेश हात्तीले पर्सा क्षेत्रमा आठ जनाको ज्यान लिएको छ ।  

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बर्दिया दाह्रे नामक मत्ताले छ जनाको र कोसी क्षेत्रमा कोसी दाह्रेले तीन जनालाई मारेको छ । यसैगरी झापा, सप्तरी, कञ्चनपुरमा गरी विभिन्न मत्ताले छ जनाको ज्यान लिएको छ । 

सामान्यतः मत्ता भनेको मात्तिएको भन्ने बुझिन्छ । बर्दियामा मात्र युवा मत्ताको सङ्ख्या धेरै छ । युवास्थासँगै धारिलो दाह्रा निस्कने मत्ताले ती दाह्राकै कारणले बढी क्षति गर्ने गरेको छ । हात्तीको बथानबाट छुट्टिएका भाले हात्ती उमेर बढेसँगै मत्ता हुने र क्षुद्र स्वभाव देखाउने गरेकोले नेपालमा हात्तीबाट जनधनको क्षति भएको विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस