काठमाडौं । निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षामा सहभागी हुन सर्लाही आइपुगेका परीक्षार्थीले बास नपाएर कष्टसाथ रात बिताउनुपर्यो । शिक्षक सेवा आयोगले शनिबार सञ्चालन गरेको परीक्षामा सम्मिलित हुन विभिन्न जिल्लाबाट शुक्रबार परीक्षार्थी हरिवन पुगेका थिए । भएजति होटल परीक्षार्थीले भरिभराउ भए । आउनेक्रम थपिँदै जाँदा होटल नपाएपछि थुप्रै परीक्षार्थी शुक्रबार राति १० बजेसम्म सडकमै अलपत्र परे ।
हरिवनस्थित महादेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जयशङ्कर सिंहले परीक्षार्थीले सबैतिर चहार्दा पनि बास नपाएपछि आफूहरूले राति अबेर विद्यालयमा ल्याएर सुताउनुपरेको बताए। उनले भने, “कतिपयका त काखे बच्चा पनि थिए । ४० जनालाई बालविकास भवनको दुई कोठामा बल्लतल्ल व्यवस्थापन गर्यौं। परीक्षा केन्द्र तोक्ने मामिलामा आयोगको व्यवस्थापन कमजोर देखियो ।”
वर्षाका कारण तोकिएका परीक्षा केन्द्रसम्म अघिल्लो दिन आइपुग्न समस्या भोगेका परीक्षार्थीले एकरात बासका लागि कोठा पाउन निकै समस्या भोग्नुपर्यो । यसले गर्दा परीक्षार्थीले निकै तनावसाथ परीक्षामा सम्मिलित हुनुपर्यो।
प्रतिक्रिया दिनुहोस