aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पाँच वर्षमा नौ हजार चिनियाँलाई बिजनेस भिसा

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, २९ साउन २०७९
पाँच वर्षमा नौ हजार चिनियाँलाई बिजनेस भिसा

काठमाडौं । पछिल्लो ५ वर्षमा करिब ९ हजार चिनियाँ नागरिकले नेपालका लागि बिजनेस भिसा लिएका छन् । उद्योग विभागको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट सन् २०१७ यताको पाँच वर्षमा ८ हजार ८ सय ३९ जना चिनियाँले बिजनेस भिसा लिएका हुन् ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालमा बिजनेस भिसा लिनेमा चिनियाँ नागरिक सबैभन्दा अगाडि छन् भने चिनियाँपछि कोरियाली, जापानी, अमेरिकी तथा अष्ट्रेलियन र जर्मन नागरिक रहेका छन् । सन् २०१७ मा १ हजार ५ सय ७९, २०१८ मा १ हजार २ सय ८९, २०१९ मा २ हजार ७ सय १३, २०२० मा १ हजार ३ सय ७४ र २०२१ मा १ हजार ३ सय ४४ चिनियाँ नागरिकले बिजनेस भिसा लिएका छन् ।

चीनबाट भिसा आवेदनमात्र नभई यो अवधिमा सबैभन्दा बढी लगानी स्वीकृतसमेत भएको छ । विभागको तथ्यांकअनुसार चीनबाट पछिल्लो पाँच वर्षमा ४९ अर्ब ९० करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ । भारतीय नागरिकका लागि भने नेपालमा भिसाको आवश्यक पर्दैन । नेपालमा लगानी गर्नेमा पछिल्लो दशकमा चिनियाँपछि भारतीय रहेका छन् । यद्यपि, हालसम्मको कुल लगानीमा भने चीनभन्दा भारत नै अगाडि रहेको छ ।

नेपालका ठमेल, पोखरा लगायतका क्षेत्रमा चिनियाँको बाक्लो उपस्थिति रहेको छ । उनीहरूले चीन र नेपालबीच आयात–निर्यात व्यापारमा पनि मध्यस्थताको भूमिका खेल्ने र यसका लागि बिजनेस भिसा लिने गरेको पाइएको छ । विभागले भने वैदेशिक लगानीको प्रक्रिया पूरा गरेर आउने नागरिकलाई आफूहरूले भिसा सिफारिस गर्ने र परराष्ट्रबाट बिजनेस भिसा जारी हुने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस