
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा शुरु गर्दा २०७२ असोज २५ गते निर्णय गरेको देश भरका तुइन हटाएर २ वर्षभित्र पुल निर्माण गर्ने निर्णयले चार वर्षसम्म पूर्णता पाउन सकेको छैन ।
देशभर रहेका १९५ वटा तुइनमध्ये हालसम्म १२१ वटा विस्थापित गरी झोलुङ्गे पुल सम्पन्न गरिएको साविकको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) हालको स्थानीय पूर्वाधार विभाग (डोली) अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । डिभिजन कार्यालयको आर्थिक वर्ष २०७६-०७७ मा सबै तुइन हटाएर त्यस ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने योजना रहेको छ । कार्यालयका अनुसार यस्ता पुल निर्माण गरेपछि ५० वर्षसम्म टिक्छ ।
देशभरिमा ७४ वटा तुइन हटाउन बाँकी रहेकोमा चालू वर्षमा १९ वटा स्थानमा तुइन हटाउने सस्पेन्सन ब्रिज डिभिजनका उपसचिव हुमाकान्त मिश्रले जानकारी दिए । उनका अनुसार बाँँकी रहेका ५४ वटा तुइन हटाउन नसक्ने अवस्थामा रहेका छन् । तुइन हटाइएको स्थानमा नयाँ झोलुङ्गे पुल निर्माण गर्नुपर्ने हुन्छ । १९ वटा झोलुङ्गेमध्ये १५ वटा डिभिजन कार्यालयले हेर्ने र ४ वटा जिल्ला समन्वय समितिले हेर्ने भएको छ । डिभिजन कार्यालयका अनुसार २० देखि ३० मिटरभन्दा कम लम्बाईको तुइन रहेको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न गाह्रो हुने भएकाले ५४ वटा स्थानमा तुइन हटाउन गाह्रो रहेको छ ।
त्यस्तै तुइन भएका केही स्थानमा छिट्टै सडक निर्माण हुने र सडक पुल बन्ने भएकाले दोहोरो पुल हुने भएकाले पनि तत्कालका लागि तुइन नहटाउने कार्यालयको योजना छ । यस्ता पुल निर्माण दोहोरिने १० वटा तुइन रहेका छन् । साथै जग्गा विवादले दुई वटा तुइन नहट्ने भएका छन् । ती दुई वटा तुइन हटाएर झोलुङ्गे पुल निर्माणको लागि टेन्डर गरिए पनि निर्माण गर्न नसकिने भएपछि डिभिजन कार्यालयले निर्माण नगर्ने निर्णय लिएको मिश्रले बताए ।
यस्तै कतिपय तुइन निजी रुपमा समेत बनेकाले ती पनि हटाउन नसकिएको उनले जनाए । निजी तुइनहरु जलविद्युत् उत्पादकले पानीको सतह नाप्न (गेजिङ स्टेशन) को लागि प्रयोग गरेका छन् । यस्ता तुइन हटाउन नपाइने भएकाले सो ठाउँमा झोलुङगे पुल निर्माण नहुने डिभिजन कार्यालयले जनाएको छ ।
यसैगरी कतिपय ठाउँमा बसोबास नभएको र घाँस काट्नका लागि मात्र तुइनको प्रयोग गरी आवतजावत गर्ने ठाउँ भएकाले त्यस्ता ठाउँमा समेत झोलुङ्गे पुल निर्माण गर्ने सम्भावना नभएको हो । त्यस्ता ठाउँमा फाउन्डेसन (जग) निर्माण गर्न नमिल्ने भएपछि त्यहाँ तुइन नहटाइने डिभिजनल कार्यालयले जनाएको छ ।
एक वर्षमा ५ सय झोलुङ्गे पुल निर्माण
डिभिजन कार्यालयले चालू आर्थिक वर्षमा १ सय ३५ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । हाल १ सय ४१ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । २०७५ सालमा कार्यालयले ५३ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो । ७० वटा झोलुङगे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि ५३ वटा मात्र झोलुङ्गे पुल निर्माण गरेको कार्यालयले जनाएको छ ।
विभागले १ सय २० मिटरभन्दा लामो पुल मात्र निर्माण गर्दछ । त्यो भन्दा कमको पुल स्थानीय तहले बनाउने मिश्रले बताए । नेपालमा १ वर्षमा सबै निकाय गरेर ५ सय पुल निर्माण गर्ने गर्दछ ।
आर्थिक वर्ष २०७५÷०७६ सालमा पुल निर्माण गर्ने लठ्ठा नभएकाले लक्ष्य पूरा हुन नसकेको कार्यालयले जनाएको छ । मिश्रले भने–‘पुल निर्माण गर्दा प्रयोग हुने सो लठ्ठा भारतबाट आयात गर्नु पर्छ । लठ्ठा आपूर्ति समयमै हुन नसकेपछि लक्ष्य पूरा गर्न नसकिएको हो । ‘लठ्ठा भारतबाट आउँछ, लठ्ठा बिना पुल निर्माण गर्नै मिल्दैन, त्यसको सप्लाई ढिलो भएकाले लक्ष्य पूरा हुन सकेन,’ मिश्रले भने ।
गत वर्ष पुल निर्माणका लागि ९५ करोड रुपैयाँ विनियोजन भएको थियो । सो वर्ष सबै बजेट खर्च भएको डिभिजनले जनाएको छ । यस्तै थप १ सय ४१ वटा झोलुङ्गे पुल निर्माणका लागि निर्देशन आएको उनले जानकारी दिए ।
नेपालमा २ प्रकारका झोलुङ्गे पुल निर्माण हुन्छन् । एउटा टावर भएको जसलाई सस्पेन्डेड भनिन्छ भने अर्को ‘डि’ आकारको झोलुङ्गे पुल हुन्छ जसलाई सस्पेन्सन भन्निछ ।
प्रतिक्रिया दिनुहोस