काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर उठ्न थालेको दुई दिनमै अवरोध भएको छ । धुनीबेँसी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त वक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।
फोहोरको समस्या तत्काल समाधान नभए अब आउने प्रतिनिधि र प्रदेशसभा चुनाव बहिस्कार गर्ने चेतावनी उनीहरुको छ ।
उनीहरुले फोहोरमाथि राजनीति भयो भनेर लाग्ने आरोपको खण्डन गरेका छन् । उनीहरुले सम्झौता कार्यान्वयन गर्न महानगरलाई समय दिएको भन्दै अब कार्यान्वयन नभएसम्म एक पोका फोहोर पनि खस्न नदिने चेतावनी दिएका हुन् ।
धुनीबेँसीका स्थानीय राजनैतिक दलको चेतावनी दिएपछि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले समास्या समाधानमा असहयोग भएको बताएका छन् । उनले समाजिक सञ्जालमा स्थानीय तीन राजनैतिक दलको विज्ञप्तिसमेत शेयर गर्दै लेखेका छन्, ‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? मेयर साहले फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस