aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्थानीय सरकार कसरी चलाउने ? कांग्रेसले सिकायो उपाय

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, ०१ भदौ २०७९
स्थानीय सरकार कसरी चलाउने ? कांग्रेसले सिकायो उपाय

काठमाडौं । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय थिइन्  ।  कुनै ठाउँमा कसैलाई केही पर्दा उनले नै अग्रसरता लिन्थिन् । राजनीतिक आन्दोलन र सामाजिक कार्यको बलमा नगरपालिका उपप्रमुखमा निर्वाचित असगरी दुई दिनअघिसम्म आफूले जानेसम्म राम्रै गर्ने कोसिसमा रहन्थिन् तर कतिपय अवस्थामा सोचेअनुसार काम गर्न सक्थिन् । अहिले उनको सोच बदलिएको छ । अब उनी आफ्ना दृष्टिकोण र कार्यक्रम निर्धक्क राख्न सक्छिन् । उनले भनिन्, “समाजका जुनसुकै समस्या र विकृतिविरुद्ध लड्न आँट आएको छ । 

मेरो सोच बदलियो, अब नगरपालिका बदल्ने प्रयासमा लाग्नेछु ।” नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका लागि सोमबार र मङ्गलबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी असगरीले पार्टीका नीति र कार्यक्रमबारे नागरिक स्तरमा जानकारी दिने अठोट लिएकी छिन् ।

निर्वाचनको पूर्वतयारीमा कांग्रेस

प्रतिष्ठानले ‘सुशासन, पारदर्शिता, जवाफदेहिता, गतिशीलता, समुन्नतिका लागि हाम्रो दृढ चार प्रतिबद्धता’ शीर्षकमा आयोजना गरेको कार्यक्रम मङ्सिर ४ गतेको निर्वाचनको तयारीका लागि शक्ति सञ्चयको झल्कोकै रूपमा देखियो । उपप्रमुख असगरीले भनिन्, “अब निर्वाचनको तयारीमा लाग्नुछ, जनताको कामसँगै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनलाई जिताउन योजनाबद्ध रूपमा काम गर्नेछौँ ।”

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पार्टी प्रतिनिधि सभा र प्रदेश सभाको तयारीमा जुटेको बताए । उनले गठबन्धन गर्दा धरातल हेरेरै गर्नुपर्ने बताउँदै कम्युनिस्टबाट देश अघि बढ्न सक्दैन भन्ने प्रमाण दुई तिहाइ मत प्राप्त पूर्ववर्ती सरकारले पेस गरिसकेकाले कांग्रेसको पक्षमा माहोल बनिरहेको दाबी गरे । 

उनले भने, “देशलाई निकास दिन कांग्रेस चाहिन्छ भन्ने सन्देश जनतामाझ गएको छ, अब प्रशिक्षणपछिको आत्मविश्वास बोकेर हामी पनि जनतामा जान्छौँ, पार्टीलाई सुदृढ बनाउँछौँ ।”

प्रमुख कोइरालाले ढिला भए पनि महìवपूर्ण कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभयो । कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीले केन्द्रीय नेतृत्वबाट प्राप्त सन्देश र निर्देशनलाई कार्यान्वयन गर्ने र जनताका पक्षमा काम गर्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बहुमत हासिल गर्नेतर्फ आफूहरू केन्द्रित हुने बताए । 

उनले भने, “कांग्रेसको केन्द्रीय नेतृत्वले  पालिकादेखि वडा तहसम्मै पुग्नुपर्छ, नीति कार्यक्रम जनतालाई बुझाउनुपर्छ । यो प्रशिक्षणको शक्ति लिएर कांग्रेसको पक्षमा लहर सिर्जना गर्नतर्फ हामी केन्द्रित हुनेछौँ ।”

प्रतिक्रिया दिनुहोस